काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धपछिको आर्थिक घाटा पूर्ति गर्न तेल बेच्न जरुरी रहेको बताएका छन्।
बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटो शिखर सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले चीनले इरानबाट तेल किन्ने चाहना राखेमा आफूलाई कुनै समस्या नरहेको स्पष्ट पारे। उनले भने, “इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ। उनीहरू अहिले तेल बेचेर आफ्नो आर्थिक स्थिति सुधार्न चाहन्छन्। म चाहे भने यो प्रक्रिया रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न।”
उनले अर्को हप्ता अमेरिका र इरानबीच वार्ता हुने जानकारी पनि दिए। ट्रम्पले इरानसँगको सम्बन्धमा कूटनीतिक संवादलाई प्राथमिकता दिने संकेत गरेका छन्।
यस्तै, राष्ट्रपति ट्रम्पले नेटो सदस्य राष्ट्रहरूले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउने सहमतिलाई आफ्नो कूटनीतिक जितको रूपमा व्याख्या गरे। उनले विगत एक महिनादेखि लगातार दिएको दबाबकै कारण नेटोका नेताहरूले सन् २०४६ देखि लागू हुने गरी सुरक्षा खर्च वृद्धिमा सहमति जनाएको बताए।