गोलबजार (सिरहा)। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा पनि प्रदर्शन गरिएको छ। आफूलाई हिन्दु सम्राट सेना बताउने समूहको नेतृत्वमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले “सुनसरीमा मारिएका व्यक्तिलाई न्याय दे”, “गृहमन्त्रीले राजीनामा देऊ”, “गोली चलाउनेमाथि कारबाही गर”, “प्रहरी दमन बन्द गर”, “हिन्दुमाथिको दमन बन्द गर” लगायतका नाराबाजी गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले सरकारले भोलिसम्म ठोस निर्णय नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
यसअघि सिरहाकै कर्जन्हा नगरपालिकाको बन्दीपुरका स्थानीयले पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै घटनाको विरोध गरेका थिए। उनीहरूले पनि घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले सुनसरी घटनाको विरोधमा कर्जन्हा र गोलबजारमा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको बताए। प्रदर्शनकारीका अगुवासँग छलफलको तयारी भइरहेको उल्लेख गर्दै उनले हालसम्म जिल्लामा कुनै उच्छृङ्खल गतिविधि नभएको र अवस्था सामान्य रहेको जानकारी दिए। परिस्थिति जटिल बने सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी आवश्यक निर्णय लिइने उनको भनाइ छ।

यसअघि सोमबार दिउँसो करिब २ बजे स्थानीयवासी तथा राष्ट्रिय एकता दलका कार्यकर्ताले सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए।
उता, सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता को उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ। घटनामा ८ जना प्रदर्शनकारी तथा प्रहरी निरीक्षक राकेश राई सहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि सुनसरीसहित विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन् भने सम्बन्धित निकायले घटनाको छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ।











