काठमाण्डौं : कांग्रेस केन्द्रीय समिति सदस्य एवं युवा नेता प्रदीप पौडेलले सरकारले आगामी वैशाखमा घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा नहुने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
सभामा उनले भने, ‘आगामी वैशाखमा केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा हुँदैन । यो विषयमा कांग्रेस लाटो छैन, ओलीले कांग्रेसलाई जिताउने निर्वाचन गर्दै गर्दैनन् ।’ उनले आँट भए प्रधानमन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा आउन आग्रह पनि गरे ।
उनले प्रधानमन्त्री केपी ओलीलाई रेल ल्याउन कसले छेक्यो, पानीजहाजमा झन्डा फहराउन कसले छेक्यो, घरघरमा ग्यास पुर्याउन कसले रोक्यो ? भन्दै सभामा प्रश्न पनि गरे । याेभन्दा खत्तम सरकार इतिहासमा नबनेको उनको भनाइ छ ।
उनले एउटा इकाइ बनाउन संघीयता नल्याएको र केपी ओली स्थिरताको शत्रु भएको आरोप पनि लगाए । यस्तै, ओलीको निरंकुश शासक बन्ने चेष्टा असफल पार्ने उनले चेतावनी पनि दिए । सभामा उनले गणतन्त्र हेर्ने जिम्मा ओलीलाई दिनु भनेको मकैबारी हेर्न बाँदरलाई जिम्मा दिएजस्तै भएको पनि आरोप लगाए । उनले भने, ‘यो अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ। संसद् विघटनसम्बन्धी कदम सच्चिनुपर्छ, प्रतिनिधिसभा पुनर्वहाली हुनुपर्छ । संवैधानिक नियुक्तिहरू खारेज हुनुपर्छ ।’