काठमाण्डौं : प्रधानमन्त्री केपी ओलीले लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । माघ १६ गते (आज) सहिद दिवसको अवसर परेर प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारकमा आयोजित विशेष कार्यक्रमबीच सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
साे अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर सहिदहरूकाे बलिदानको त्याग अतुलनीय भएको बताए । सहिदका योगदानसँग बाँचेका मानिसको कुनै पनि योगदान तुलना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताए । अहिले जुन उपलब्धि, सफलता र उचाइ प्राप्त भएको छ ती सबै कुराको पछाडि सहिदको बलिदानले काम गरेको पनि उनको भनाइ छ ।
सहिदहरू सबैका साझा भएकोले सहिदको बलिदानबाट प्राप्त भएका उपलब्धिहरूसमेत सबैको साझा भएको बताए । सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई सहिदका सपना पूरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि बताए ।
सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताए । सहिद दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत विभिन्न मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो ।