भैरहवा । रुपन्देहीमा ४० वर्षका पुरुषलाई जलाएकाे अवस्थामा शव भेटिएकाे छ।
एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको मायादेवी गाउँपालिका–७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा आगो लगाएर जलाएको अवस्थामा एक जना युवाको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। अन्दाजी ३५/४० वर्षका ती पुरुषलाई जलाएर हत्या गरिएको हुन सक्ने प्रहरी आशंका छ।
रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले खेतमा फेला परेको शव आंशिक रुपमा जलेको अवस्थामा रहेको बताए। घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको बताउँदै पोखरेलले घटनामा संलग्न दोषीको पहिचान हुन नसकेको जनाए।
प्रहरीका अनुसार शवको अझैसम्म सनाखत हुन सकेको छैन। सनाखतका लागि १ सय बढी स्थानीयलाई बोलाएर देखाए पनि पहिचान हुन नसकेको प्रहरीले बताएको छ।
घटनामा संलग्न दोषीको पहिचानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ।