वीरगंज, पर्सा — वीरगंज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले नेकपा (एमाले) को साधारण सदस्यता समेत परित्याग गरेका छन्। पार्टीभित्र सुधारका कुनै संकेत नदेखिएको र सुशासन तथा परिवर्तनको चाहना राख्ने नागरिकहरूको आवाज बेवास्ता गरिएको भन्दै उनले पार्टी छोड्ने घोषणा गरेका हुन्।
परागले आफ्नो राजीनामाको कारण स्पष्ट पार्दै भने, “अब म कुनै राजनीतिक दलसँग छैन। म नयाँ पुस्ता र जेन–जी आन्दोलनसँगै रहन्छु। देश परिवर्तनको जिम्मा अब जागरुक युवाहरूको काँधमा छ।”
उनको यो कदम एमालेभित्र असन्तुष्टि र जेन–जी आन्दोलनको प्रभाव वडास्तरसम्म फैलिन थालेको संकेतका रूपमा हेरिएको छ। पछिल्ला केही महिनादेखि मधेसमा जेन–जी आन्दोलनको लहर तीव्र बन्दै गएको छ, जसले परम्परागत दलहरूको नेतृत्वशैली र निर्णयमाथि प्रश्न उठाएको छ।
उता, एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको राजीनामाबारे औपचारिक जानकारी नआएको बताएका छन्। उनका अनुसार, “लिखित रूपमा राजीनामा आएको छैन। आएपछि मात्रै पार्टीले त्यसबारे औपचारिक निर्णय लिनेछ।”
राजनीतिक विश्लेषकहरूका अनुसार, रामकिशोर सिंह परागको निर्णय एमालेका लागि मात्र होइन, पुराना दलहरूको लागि पनि गम्भीर चेतावनी हो। उनीहरूको भनाइमा, “जेन–जी आन्दोलनले उठाएको असन्तुष्टि र परिवर्तनको चाहनालाई अब बेवास्ता गर्न सकिँदैन।”