मधेस प्रदेशमा जनमत पार्टीले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग मिलेर नयाँ सरकार गठनको दाबी पेस गरेपछि व्यापक आलोचना सुरु भएको छ। हालैको जेनजी विद्रोहमा बलिदान भएका युवाको रगत सुक्न नपाउँदै जनमतले यही आन्दोलनको मर्म विपरीत कदम चालेको भन्दै मधेसी जनताबीच आक्रोश फैलिएको छ।
बुधबार कांग्रेस, एमाले र जनमत पार्टीका शीर्ष नेताहरू संयुक्त रूपमा प्रदेश प्रमुखकहाँ पुगेर सरकार गठनका लागि दाबी पेस गरेका थिए। उक्त गठबन्धनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म जनमत पार्टीप्रति असन्तुष्टि देखिएको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, “जेनजी विद्रोह कांग्रेस र एमालेको असफल शासन र उदासीनताप्रति भएको असन्तोषको परिणाम थियो। अहिले त्यही असफल दलसँग जनमत पार्टीको हातेमालो जनताको म्यान्डेटको अपमान हो।”
मधेसको जनभावना परिवर्तन र सुधारका नारासहित उठेको जनमत पार्टी अहिले सत्ता समीकरणको भागीदार बनेको भन्दै उसमाथि ‘आन्दोलनको आत्मा बेचिएको’ आरोप लागेको छ। धेरैले यसलाई जनमत पार्टीको राजनीतिक दुर्भाग्य र स्वार्थका लागि जनभावनाको बलिदान भन्दै टिप्पणी गरेका छन्।
कांग्रेस, एमाले र जनमतका प्रदेश संसदीय दलका नेताहरू—कांग्रेसका कृष्णप्रसाद यादव, एमालेका सरोजकुमार यादव र जनमत पार्टीका महेशप्रसाद यादव—ले संयुक्त रूपमा प्रदेश प्रमुखकहाँ सरकार गठनको दाबीपत्र बुझाएका छन्।
तर जनमतका कार्यकर्ता र जेनजी आन्दोलनमा सहभागी युवाहरू भने पार्टीको निर्णयप्रति निराश छन्। उनीहरूको भनाइ छ, “हामीले रगत बगाएर ल्याएको आवाजलाई जनमतले आज बेचेको छ।”
मधेसको नयाँ सत्ता समीकरणले प्रदेशको राजनीति कस्तो दिशा लिन्छ भन्ने कुरा आउँदा दिनले देखाउनेछ, तर अहिलेको अवस्थाले जनमत पार्टी जनताको मन जित्नेभन्दा गुमाउने बाटोतिर लागेको स्पष्ट संकेत दिएको छ।