महेश सिंह सिरहा लहान- मिटर ब्याजको दलदलमा फसेका किसान तथा मजदुरहरूलाई न्याय दिलाउने उद्देश्यसहित ‘मिटर ब्याजी किसान मजदुर आन्दोलन नेपाल’ को सप्तरी जिल्ला समिति गठन गरिएको छ। आइतवार, असार ८ गते सम्पन्न एक विशेष अधिवेशनमार्फत विरेन्द्र कुमार सिंहलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
समितिको संरचना किसान र मजदुरहरूको प्रतिनिधित्व हुनेगरी व्यापक बनाइएको छ। उपाध्यक्षमा मिश्रिलाल मण्डल, सचिवमा विजय कुमार चौधरी, सहसचिवमा जयकान्त यादव तथा कोषाध्यक्षमा रम्भा देवी चौधरी चयन भएका छन्।
संगठनका सप्तरी जिल्ला इञ्चार्ज तैयब अलीका अनुसार, “जिल्ला भरीका सम्पूर्ण मिटर ब्याज पीडितहरूलाई एकताबद्ध गरी लामो समयदेखि अन्यायमा परेको वर्गलाई राहत दिलाउने उद्देश्यका साथ यो संघर्ष समिति निर्माण गरिएको हो।” उनले अवैध रूपमा अत्यधिक ब्याज असुल गर्ने साहु-महाजनहरूको विरुद्धमा कानुनी र सामाजिक दुवै किसिमका दबाब सिर्जना गरिने स्पष्ट पारे।
“सम्पूर्ण मिटर ब्याजी एक हौँ, मिटर ब्याजी साहु-महाजनलाई कारबाही गर, उचित ब्याज व्यवस्थापन गर” भन्ने मूल नारासहित समिति गठन गरिएको छ।
जिल्ला सचिव विजय चौधरीका अनुसार संघर्ष समितिको मुख्य ध्यान निम्न विषयहरूमा केन्द्रित रहने छ।मिटर ब्याज पीडितको उजुरी संकलन र डकुमेन्टेसन
स्थानीय र प्रदेश सरकारसँग संवाद गरी राहत तथा क्षतिपूर्ति सुनिश्चित गर्ने पीडितहरूलाई मानसिक, सामाजिक र आर्थिक सहयोग प्रदान गर्ने मिथिला कमान्डका प्रतिनिधि सुर्ज मण्डलले पनि संघर्ष समितिको कार्यलाई समर्थन जनाउँदै भने, “पीडित किसान-मजदुरको पक्षमा आवाज उठाउनु अहिलेको अत्यावश्यकता हो। समितिको अभियानमा हामी निरन्तर साथ दिनेछौं।”
सप्तरी लगायत मधेशका विभिन्न जिल्लामा मिटर ब्याजको समस्या दीर्घकालदेखि जरो गाडेर बसेको छ। साहु-महाजनबाट लिएको न्यूनतम ऋणसमेत अत्यधिक ब्याजका कारण दशकौंसम्म फिर्ता गर्न नसक्ने अवस्थाले हजारौं किसानहरू जीवन भर ऋणमा बाँधिएका छन्। यही समस्याको स्थायी समाधानका लागि यस्तो संगठन र समिति आवश्यक रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
यस समितिको गठनले मिटर ब्याज पीडितका आवाजलाई एकसंगठित र सशक्त बनाउने अपेक्षा गरिएको छ। अब किसान र मजदुरहरू सहन होइन, लड्नको लागि अघि बढिरहेका छन्।