काठमाडौँ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आफ्नो कार्यकालमा मौलिक हक कार्यान्वयन गर्नका लागि बनाउनुपर्ने नियमावलीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
पदबहालीपश्चात पछिल्लो ६ महिनामा मन्त्रालयबाट सम्पादित कार्यहरुको जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले मौलिकहक कार्यान्वयनका लागि बनाउनुपर्ने १४ वटा नियमावलीमध्ये ११ वटा नियमावलीहरुको मस्यौदामा मन्त्रालयले सहमति दिएको जानकारी दिनुभयो । त्यस्तै आवासको अधिकार सम्बन्धी नियमावली मन्त्रालयको सहमतिकै क्रममा रहेको उहाले बताउनुभयो । उहाले नेपालको संविधान बमोजिमको कानून निर्माण गर्ने दिशामा राज्यका तीनवटै तहलाई सहयोग पुराउने उदेश्यले प्रदेशले बनाएका कानूनहरुको अध्ययन गरेको र कानूनहरुको सुदृढीकरणका सम्बन्धमा मन्त्रालयले प्रदेशसंग छलफल भएको जानकारी दिनुभयो । त्यस्तै सन्धि सम्पन्न गर्ने कामलाई स्पष्ट गर्न सो सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृती भइ कार्यान्वयनमा आएको उहाले बताउनुभयो ।
मन्त्री तुम्बाहाङ्फेले पशु कल्याण ऐन, नेपाल कृषि बिधेयक, रोग नियन्त्रण केन्द्र सम्बन्धी बिधेयक लगाएत सातवटा बिधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिनुभयो । उहाका अनुसार १९ वटा बिधेयक तथा अध्यादेशको मस्यौदामा तर्जुमा सहमति दिइएको, २८ वटा नियमावलीको मस्यौदामाा तर्जुमा सहमति दिइएको र ९ वटा गठन आदेशमा तर्जुमा सहमति दिइएको छ ।