काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।
२१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दलविभाजन सम्बन्धी जिम्मेवारी पाएका हुन् । गत शुक्रबार यो जिम्मेवारी पाएका वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लागेका छन् ।
स्रोतका अनुसार पछिल्लो पटक माधव–प्रचण्ड समूहले पठाएको १९ पृष्ठको पत्र उनले पढिसकेका छन् । उनलाई आयोगको कानुन शाखाले सहयोग गरेको छ ।
भण्डारीले नियमित प्रक्रिया अन्तर्गत यो जिम्मेवारी पाएको निर्वाचन आयोगका एक अधिकारी बताउँछन् । ‘पहिला तीन आयुक्तले गर्दै आएको काम ऐन अनुसार पाँच जनालाई बाँडफाँड गरेका हौं’, नाम उल्लेख गर्न नचाहने ती अधिकारी भन्छन्, ‘कानुनी पृष्ठभूमि पनि भएकाले दल विभाजनसम्बन्धी जिम्मेवारी उहाँले पाउनु भएको हो ।’
विवाद सम्बन्धी निर्णय भने आयुक्तहरूले सामूहिक रुपमै लिने स्रोतको भनाइ छ । मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख आयुक्तले भोट दिने व्यवस्था छ ।
आयुक्त भण्डारीलगायत संवौधनिक निकायहरुमा नियुक्त भएका ३२ जनाविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ ।