पुष्पराज अधिकारी
रामेछाप । बागमती प्रदेश सरकारले पछाडि परेका माझी समुदायका लागि एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ । खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा बागमती प्रदेश र खाँडादेवी गाउँपालिकाको संयुक्त लगानीमा एकीकृत नमुना बस्ती तयार शनिबार माझी समुदायलाई हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ४२ वटा घर, सामुदायिक भवन, खेल मैदान लगायतका संरचना निर्माण भएको छ । आज एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भवन गाउँपालिका अध्यक्ष प्रेम तामाङलाई हस्तान्तरण गर्नुभयो।
बस्ती हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले जनताको हरेक मौलिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार सदैव प्रतिबद्ध भएको बताउनुभयो । माझी समुदायलाई बस्तीसँगै जीविकोपार्जनका लागि प्रदेश सरकारले कृषि तथा पर्यटनसँग जोडेर योजना बनाइरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
बाग्मती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख रुपैँयाको लागतमा बस्ती तयार भएको हो । एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय छन् । त्यस्तै, सामुदायिक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बस्ती बनेको हो ।