काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले यस घटनामा १२ जनाको मृत्यु भएको र २७ जना घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन्।
मोहसिन नकवीले भने, “दिउँसो १२:३९ बजे अदालतमा आत्मघाती हमला भयो। यो हमलाले ठूलो क्षति पुर्याएको छ, जसमा १२ जनाको मृत्यु भएको छ भने लगभग २७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ। प्रधानमन्त्री आफैंले घाइतेहरूको उचित उपचार गरिनुपर्ने बताएका छन्।”
प्रहरीले यो विस्फोटको प्रकृति अझै पत्ता लगाउन सकेको छैन, तर अदालत वकिल, न्यायाधीश र सर्वसाधारणबाट खाली गराइएको छ।
प्रहरी र उद्धार टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेका छन् भने घाइतेहरूलाई अस्पताल लगिएको छ।
समाचार एजेन्सी रोयटर्सले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै केही घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ।
प्रहरीले भन्यो, “विस्फोटको अनुसन्धान भइरहेको छ। यद्यपि, कारणहरू अझै थाहा भएको छैन। फोरेन्सिक टोलीबाट जानकारी प्राप्त गरेपछि हामी केही भन्न सक्नेछौं।”
विस्फोट इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै भएको थियो, जहाँ सामान्यतया अदालतको कामको लागि आउने मानिसहरूको भीड हुन्छ।
















