काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते बस्नेगरी स्थगित भएको छ। पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक भाद्र ७ गते बस्ने गरी स्थगित गरिएको हो।
पदाधिकारी र पूर्व पदाधिकारी बैठकहरूले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य लगाएतले धारणा राखेका थिए।
धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका विषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले बताए। आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जन पारित गर्ने र समसामयिक विषयमा समेत निर्णय लिने उनले जानकारी दिए।