नुवाकोटका सागर भण्डारी (परिवर्तित नाम) उमेरले ४० कट्दै थिए। उनको विवाह गरेको भने १५ वर्ष पूरा भएर १६ वर्ष लागेको थियो। यो १६ वर्षको दौरानमा उनले सन्तान सुखका लागि १० पटक आईभीएफ गराए। त्यो पनि पछिल्लो ६ वर्षमा। तर, सफल भने हुन सकेन। ११ औँ पटक निसन्तान केन्द्रमा पुग्दा उनमा धेरै संवेदना थिएन। उनलाई केही कुराले पनि नछुने अवस्था भइसकेको थियो।
त्यसो त सुरुमा उनले आफूमा निसन्तानपन छ भनेर स्वीकार गरेकै थिएनन्। विवाह गरेको ८ वर्षसम्म पनि बच्चा भएनन्। परिवार समाज दुवैले उनकी श्रीमतीलाई प्रश्न गरे। उनले श्रीमतीको चेकजाँच पनि गराए। श्रीमतीमा निसन्तानपनको त्यस्तो कुनै समस्या देखिएन। त्यसपछि बल्ल उनी आफ्नो जाँच गराउन तयार भए। परीक्षणपछि उनमा शुक्रकीटको मात्रा कम भएको पुष्टि भयो। उनले तत्काल यो कुरा स्वीकार गर्न सकेनन्।
उनलाई केही समय डाक्टरी परामर्श दिनु पर्योर श्रीमती र परिवारले सम्झाए। त्यसपछि बल्ल उनले आफूमा ‘क्लाइनफेल्टर सिन्ड्रोम’को समस्या रहेको स्वीकार गरे। यतिबेलासम्म उनीहरूको विवाह भएको १० वर्ष नाघिसकेको थियो। ११ औँपटक आईभीएफ गराएका उनले यसपटक पनि सफल नभए चित्त बुझाउने बताएका छन्। उनकी श्रीमती भने आफ्ना श्रीमानले आफूमा बाँझोपनको समस्या रहेको कुरा स्वीकार गरेकोमा शान्तिको सास फेरेको बताउँछिन्।
मकवानपुरका ३७ वर्षीय विकास तामाङ र ३० वर्षीया आइती तामाङ (परिवर्तित नाम)को विवाह भएको ५ वर्षसम्म सन्तान भएनन्। विवाहको ५ वर्षसम्म नातिनातिना खेलाउन नपाएको भन्दै आइतीलाई सासू–ससुराले दिनहुँ टोकसो गर्न थाले। छिमेकी र आफन्तले पनि उनकै कुरा काटे। जबकि उनका श्रीमानलाई यौन सम्पर्क राख्ने इच्छा नै हुँदैनथ्यो।
श्रीमतीले श्रीमानमा रहेको समस्या परिवारलाई बताउन सकिनन्।
बरु विकास घरबाट सुटुक्क जाँचका लागि काठमाडौँ आए। चिकित्सकसँग जाँच गराउँदा पुरुषमा ‘क्लाइनफेल्टर सिन्ड्रोम’ अर्थात शुक्रकीट नै उत्पादन नहुने समस्या रहेको पुष्टि भयो। यो कुरा विकासको परिवारलाई त थाहा भयो तर आइतीलाई भने थाहै नदिई गाउँ फर्किए। आफूमा समस्या रहेको परिवार र आफन्तले पनि थाहा पाएपछि विकासमा बिस्तारै डिप्रेसनको संकेत देखिन थाल्यो।
उनको परिवारले बुहारीलाई थाहै नदिई डोनर बैंक मार्फत शुक्रकीट ल्याएर पाठेघरमा राखिदिने र बच्चा जन्माउने योजना बनायो। २ वर्षअघि उनीहरू बुहारीलाई लिएर परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल आइपुगे। तर, डोनर बैंक मार्फत शुक्रकीट ल्याएर पाठेघरमा राखिदिने र बच्चा जन्माउने कुरासँग आइती अनविज्ञ थिइन्। चिकित्सकले महिलालाई थाहा नदिई कानुनी रूपमा सरकारी अस्पतालमा डोनर बैंक मार्फत शुक्रकीट राख्न नमिल्ने बताइदिए। त्यसपछि बल्ल उनले समस्या आफूमा नभएर श्रीमानमा रहेको थाहा पाइन्।
श्रीमतीले थाहा पाएपछि भने विकासले आफूमा समस्या रहेको स्वीकार गरे। अहिले उनीहरूबीच डोनर बैंक मार्फत शुक्रकीट ल्याएर बच्चा जन्माउने विषयमा छलफल त भइरहेको छ। तर, आइती मानसिक रूपमा यसका लागि तयार छैनन्। उनले श्रीमानले आफूमा रहेकाने समस्या स्वीकार गरेकाले परिवारमा अरुले हेर्ने नजर पनि परिवर्तन भएको र बाँच्न सहज भएकाले सन्तान नै चाहिन्छ भन्ने मान्यता पनि नरहेको बताएकी छिन्।
हुम्लाका ३० वर्षीय शिव विक र २४ वर्षीया तुला विक (नाम परिवर्तित)को पनि समस्या उस्तै छ। उनीहरूको विवाह गरेको ४ वर्ष बितिसक्दा पनि सन्तान सुख प्राप्त भएन। शिवले आफ्नी श्रीमतीमा कमजोरी रहेको ठाने। स्थानीय स्वास्थ्य संस्था धामीझाँक्रीकहाँ पुगे। तर सन्तान जन्मिएनन्। परिवारबाट अर्को विवाहको दबाब आउन थाल्यो।
तुलाले दोस्रो विवाह गर्नुअघि काठमाडौँमा गएर एकपटक राम्रोसँग स्वास्थ्य परीक्षण गरौँ भनेर अड्डी कसेपछि उनीहरू ६ महिनाअगाडि प्रसूति तथा स्त्रीरोग अस्पताल आइपुगे। विक दम्पतीको स्वास्थ्य परीक्षण भयो। समस्या शिवमा देखियो। उनमा शुक्रकीटको मात्रा कम रहेको पत्ता लाग्यो। शिवले भने डाक्टरको रिपोर्टमा विश्वास गरे। श्रीमतीलाई परीक्षण नै नगरी बोलेका कतिपय वचनलाई लिएर माफी मागे। उनीहरू अहिले आईभीएफबाट बच्चा जन्माउन आर्थिक जोहोमा लागेका छन्।
पुरुषमा रहेको निसन्तानपनलाई लिएर परिवारलाई स्वीकार गर्न अझै पनि गाह्रो रहेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी बताउँछन्।
भन्छन्, ‘छोरामा समस्या हुँदा पनि समाजमा इज्जत तथा पौरुषत्वका लागि अझै पनि कतिपय ठाउँमा दोस्रो विवाह गराइदिने प्रचलन यथावत छ।’
लामो समयदेखि निसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गर्दै आएकी प्रजनन् विशेष डा. नेहा हुमागाईं पुरुषको समस्यालाई ढाकछोप गर्ने र बाँझोपन महिलाको मात्रै समस्या हो भन्ने भ्रमबाट समाज बिस्तारै बाहिर निस्कँदै गएको बताउँछिन्।
विश्वभरि नै शुक्रकीटको मात्रा खस्किरहेको र निसन्तानपनको प्रमुख कारण बन्दै गएको उनको तर्क छ।
‘बाँझोपनाको लगभग आधाभन्दा धेरै समस्या पुरुषमा हुन्छ। बाँझोपनको समस्यामध्ये झण्डै ७५ प्रतिशत पुरुषमा हुन्छ। डा. नेहा भन्छिन्, ‘तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। चर्चा भएसँगै पुरुषहरूले पनि बाँझोपनको समस्या स्वीकार गर्न थालेका छन्।’
पछिल्ला केही वर्षयता बाँझोपनको समस्या ह्वात्तै बढेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन्। प्रसूति अस्पतालमा मात्रै गत वर्ष निःसन्तान उपचार कक्षमा ८ हजारभन्दा धेरैले सेवा लिएका छन्। अन्य निसन्तान सेन्टरहरूमा त्यही अनुपातमा सेवा लिनेहरू छन्। बर्सेनि यो संख्या बढ्दो क्रममा छ।
बाँझोपनको बढ्दो समस्या नेपालमा मात्रै होइन, विश्वमै देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नै बाँझोपन विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गरेको छ। डब्ल्यूएचओको पछिल्लो अध्ययनले १७.५ प्रतिशत युवायुवतीमा बाँझोपनको समस्या रहेको देखाएको छ। अर्थात्, ६ जोडीमध्ये एक जोडीमा बाँझोपनको समस्या देखिन्छ। यो समस्या उच्च आय भएका देशमा झन् धेरै देखिएको छ।
बढ्दो बाँझोपनको प्रमुख कारण ढिलो विवाह रहेको डा. नेहा हुमागाईंको भनाइ छ।
‘पछिल्ला दिनमा ढिलो विवाह गर्ने प्रचलनले पनि प्रजनन् क्षमतामा कमी आउन थालेको छ। २० देखि ३० वर्षसम्म बच्चा जन्माउने उपयुक्त उमेर हो,’ नेहा भन्छिन्, ‘तर, अहिले पहिला करिअर त्यसपछि विवाह भन्ने सोच विकास भइरहेको छ। जसले गर्दा युवायुवतीहरू ३०–३५ वर्षमा बल्ल विवाह गर्छन्। यसले गर्दा महिलामा अण्डाको गुणस्तरमा ह्रास आउने र अण्डाको उत्पादन नै कम हुँदै जान्छ।’
धेरै तापक्रममा बस्ने पुरुषमा बाँझोपन देखिने डा. नेहाको भनाइ छ। उनको अनुभवमा खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुषमा अहिले बाँझोपन प्रमुख समस्याको रूपमा देखिएको छ।
‘उच्च तापक्रमका कारणले गर्दा अण्डकोषले वीर्य राम्रोसँग उत्पादन गर्न सक्दैन,’ डा. नेहा थप्छिन्, ‘सहरी क्षेत्रमा काम गर्ने ड्राइभर, कुक लगायत मानिसमा वीर्यको क्षमतामा ह्रास आएको छ।’
केही वर्ष अगाडिसम्म १५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या भएको अनुमान गरे पनि अहिले यो संख्या २५ प्रतिशतबाट उकालो लागेको डा. नेहाको भनाइ छ। नेपालमा अहिलेकै क्रममा विदेश जाने अवस्था रहिरहे बाँझोपनको भयावह अवस्था सिर्जना हुने डा. नेहाको दाबी छ। nepalkhabar