बुटवल : प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा कांग्रेसले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
कांग्रेस रुपन्देहीले आह्वान गरेको बन्दसँगै बुटवलका संघसंस्थाहरुको आह्वानमा आइतबार विरोध प्रदर्शन समेत भएको छ । कांग्रेस कार्यकर्ताहरुले चोकचोकमा बसेर प्रस्तावको विरुद्धमा नाराबाजी गरिरहेका छन् भने टायर बालेर प्रदर्शन गरेका थिए ।
रुपन्देहीका संघसंस्थाहरुको संयुक्त सञ्जालले पनि बुटवलमा प्रदर्शन गरेको छ । बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध ¥याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागीहरुले प्रदेश सरकारले रुपन्देहीबासीको भावनामाथि खेलवाड गर्दै असहज परिस्थितिमा राजधानी सार्ने प्रस्ताव ल्याएर गलत गरेको बताएका थिए ।
उनीहरुले दाङलाई राजधानी बनाउन त्यस क्षेत्रका नेताहरु खुलेर लाग्दा रुपन्देहीलाई राजधानी बनाउनका लागि यस क्षेत्रका सांसद खुल्न नसकेकोमा आपत्ति जनाएका थिए ।