काठमाडौं – नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाभित्र आन्तरिक विवाद चलिरहेको बेला सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको छ । दल विभाजनसम्बन्धी अध्यादेशले दुवै पार्टीलाई विभाजन हुन सहज हुने भएको छ ।
यस्तै राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि जसपाका महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । ठाकुर पक्षले पार्टीको नाम पनि तय गरिसकेको छ ।
ठाकुर पक्षले नयाँ पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) नाम राख्ने र चुनाव चिन्ह साइकल राख्ने बताइएको छ । नाम र चुनाव चिन्ह बारे पनि अहिले थप छलफल भइरहेको बताइएको छ । नयाँ नाम र चिन्हसहित ठाकुर पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।
जसपाको उपेन्द्र यादव पक्षले भने निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाइसकेको छ । आयोगले यादव पक्षमा बहुमत देखिएकाले उनैलाई पार्टीको आधिकारिकता दिएको थियो। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्य यादव पक्षमा थिए । अब ठाकुर पक्षमा कार्यकारणी समितिमा २३ जना सदस्य रहनेछन् ।
बुधबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए ।