काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय नगरेको बताउनुभएको छ । मन्त्रालयद्वारा बिहीबार आयोजित अन्तरक्रियामा मन्त्री महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन । बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन । व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो । सरकारलाई बदनाम गर्ने काम गरिएको छ ।’ मन्त्री महतोले त्यसबारेमा सरकारले कुनै निर्णय नगरेको भन्दै सरकारलाई अनावश्यक बदनाम नगर्न आग्रह गर्नुभयो ।
अध्यागमन विभागले थालेको भ्रमण भिषामा ४० वर्षमुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिने कार्यविधि संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रस्तावमा रहेको भ्रमण भिषामा जाने महिलालाई पारिवारिक तथा स्थानीय निकायको अनुमति चाहिने प्रावधानको विरोध गर्दै विभागमा आज प्रदर्शन गरिएको छ ।
विभागले भने सबै मुलुकमा जाने महिलाका लागि नभएर केही निश्चित मुलुकका लागि मात्र संशोधन गर्नुपरेको बताउँदै आएको छ । सबै मुलुकमा नभइ खाडी मुलुक र अफ्रिकन देशमा ४० वर्षमुनिका महिला बढी जाने, उनीहरू भ्रमणको नाममा गएर उतै काम खोजेर बस्ने भएकाले जोखिम कम गर्नमा संशोधन गर्नुपरेको विभागको भनाइ छ ।