काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा.विजय पौडेलले शान्तिपूर्ण आन्दोलनबाट तानाशाहलाई ढाल्न सकिने बताउनुभएको छ । नेकपाको फेसबुक लाईभमार्फत बिहीबार लिइएकाे एक अन्तर्वार्तामा पौडेलले विश्वमा शान्तिपूर्ण आन्दोलनबाट नै ठूला–ठूला तानाशाह ढलेको भन्दै प्रधानमन्त्री ओलीको शक्ति पनि धेरै नटिक्ने बताउनुभएको हो ।
उहाँले कम्युनिष्ट पार्टी भित्रैबाट जन्मिएको तानाशाहविरुद्ध लड्दा केही दुख भएपनि हजारौँको रगत र पसिनाले आर्जन गरेको संविधान र लोकतन्त्रको संरक्षणका लागि भ्रममा नपरी सबैले लड्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम कम्युनिष्ट पार्टी मात्र नभएर लोकतान्त्रिक परिपाटीनै सिध्याउने षड्यन्त्र भएको नेता पौडेलको भनाइ छ ।
उहाँले नेकपा नेता रामकुमारी झाँक्रीलाई राष्ट्रपतिको गरिमामाथि आँच पुर्याएको भन्दै पक्राउ गरेर सरकारले नै राष्ट्रपतिको गरिमामा चोट पुर्याउने काम गरेको बतउनुभयो । नेता पौडेलले भन्नुभयो, ‘असल काम गर्नेहरु जेलमा जानुपर्ने हुन सक्छ । रामकुमारीजीलाई जेलमा बस्दा दु:ख होला तर उहाँको राजनीतिक हाइट भने बढेको छ । त्यहाँ बसेर उहाँले गम्भीरता पूर्वक आगामी योजना र केही समिक्षा पनि गर्न सक्नुहुन्छ ।’
उहाँले नेता झाँक्रीलाई पक्राउ गरिएको विरोधमा युवा विद्यार्थीले माइतीघरबाट आज ४ बजे जुलुस निकाल्ने जानकारी समेत दिनुभयो ।














