काठमाडाैं । शहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रित गरेर काम कारबाही अगाडि बढाएको बताउनुभएको छ ।
बिहीवार शहरी विकास मन्त्रालयले गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनलाई नै केन्द्रित गरेर आफ्नो काम कारबाही अगाडि बढाएको बताउनुभएको हो ।
सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढेको उहाँको भनाइ छ ।
त्यसैगरी, सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी निर्माणाधीन कामलाई पहिलो प्राथमिकता दिएर अगाडि बढाउने निर्देशन दिईसकेको उहाँको भनाइ छ ।
मन्त्री साहले नयाँ शहरको डिपिआर पूरा हुँदै गरेकाले एक प्रदेशमा एक स्मार्ट सिटी निर्माणकै तहमा पुर्याउने गरी अघि बढेको पनि बताउनुभयो ।