काठमाडौं । सन् २०१६ मा दुई भारतीय नागरिकले सगरमाथा चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको हो ।
उनीहरुले सो वर्ष सगरमाथा चढेको भनी झुठा विवरण पेश गरी प्रमाण पत्र लिएका थिए । उनीहरुको प्रमाणपत्र रद्द गरिएको छ । यससम्बन्धमा उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको थियो ।
अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । उनीहरुले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम पुरा नगरी प्रमाणपत्र लिएको मन्त्रालयको ठहर छ ।
६ वर्ष प्रतिवन्ध
यी दुई भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
उता, उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको छ ।
सेभेन समिटलाई ५० हजार जरिवाना
सरकारले भारतीय नागरिकको आरोहणको परिपाटी मिलाएको सेभेन समिट ट्रेक प्रालिलाई समेत नगद जरिवाना गरेको छ । यो टोलीको सम्पर्क अधिकृतका रुपमा पवन कुमार घिमिरे खटिएका थिए ।
उनलाई मन्त्रालयले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ नियम बमोजिम कर्तब्य पुरा नगरेको ठहर गरेको छ । यस कसुरमा उनलाई निजामति सेवा ऐन अनुसार चेतावनी दिने निर्णय समेत मन्त्रालयले गरेको छ ।
उता, सगरमाथा आरोहण नै नगरेका नरेन्द्र सिंहले २० मे २०१६ मा सगरमाथा चढेको भनी पुस ९ मा झुठो कागज गरिदिने आरोहण दलका सहयोगी ङा दावा शेर्पालाई समेत मन्त्रालयले १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
सगरमाथामा बढ्दो विकृति
सगरमाथामा आरोहण दलका सहयोगीको मिलेमतोमा यसअघि पनि यस प्रकारका हर्कत हुने गरेका थिए । २०७३ सालको बसन्त ऋतुमा सगरमाथा चढेका भारतीय जोडी दिनेश रातारकेश्वरी राठौरले समेत झुठा विवरण पेश गरि प्रमाण पत्र लिएको पुष्टी भएको थियो ।
उनीहरुको आरोहण मान्यतालाई समेत पर्यटन विभागले रद्द गरेको थियो । सम्पर्क अधिकृतले समेत आँखा चिम्लदा यस प्रकारका हर्कत गर्न आरोहीलाई सहयोग पुग्ने गरेको छ ।
सोही विकृति रोक्न सरकारले आरोहीको ट्रयाकिङ गर्न जीपीएस प्रणाली जडान गर्ने घोषणा लामो समयदेखि गरे पनि सफल हुन भने सकेको छैन ।