काठमाडौँ । आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७१ जनाभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अष्टलक्ष्मी शाक्य कलंकी चोकका लागि आमहड्ताल कमान्डर हुन्।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘अहिलेसम्म ७०, ७१ जना नेता कार्यकर्ता पक्राउ गरिएको सूचना आएको छ, डिटेल आउने क्रम जारी छ।’
उनका अनुसार अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको हो भने चाबहिल, बागबजारलगायत क्षेत्रबाट पनि नेता कार्यकर्ता पक्राउ गरिएको छ।
नेता रिजालका अनुसार नेता हितमान शाक्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
आफ्नो कार्यक्रम सफल पार्न बिहीबार बिहानैदेखि काठमाडौंका सडकमा उत्रिएका नेकपाका नेता कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भइरहेको छ।
आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ ।
कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए ।
‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।














