काठमाडौं । अनामनगरमा नयाँ रेष्टुरेन्ट खुलेको छ जहाँ ६५ रुपैयाँमा पेटभरी खाना खान पाइन्छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा समस्यामा परेका मानिसलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताउनुभयो । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताउनुभयो।
रेस्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन हुने पनि अध्यक्ष पन्तको भनाइ छ। हाम्रो टीम नेपालले गतवर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।














