सिरहा । अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार स्थानीय ३५ वर्षीय अजय महरा आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थल छिमेकीको खेत नजिकै रहेको जनाइएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिरहाले मृतककी श्रीमती र अर्का एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार घटना शंकास्पद रहेकाले विस्तृत छानबिन भइरहेको छ।
“घटनाको वास्तविकता पत्ता लगाउन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षणका लागि पठाइएको छ,” डीएसपी पासवानले जानकारी दिए।
शव परीक्षणको रिपोर्ट आएपछि घटनाको कारण र सम्भावित दोषीको बारेमा थप तथ्य खुल्ने प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र आफन्तजन अहिले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै छन्।
प्रहरीले हाल घटनास्थल वरिपरि देखिएका प्रमाण, मृतकको परिवार र नजिकका व्यक्तिहरूसँग बयान संकलन गरिरहेको जनाएको छ।