महेश सिंह लहान – सप्तरीको कृष्ण सावर्न गाउँपालिका–३, एकहरियामा दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरिएको छ। सामाजिक रूपान्तरणमा क्रियाशील संस्था हमर आवाज नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सयौं विद्यार्थीहरूलाई कापी, पेन्सिललगायतका सामग्री वितरण गरिएको हो।
साउदी अरेबियामा कार्यरत नेपालीहरूको सहयोग संकलन गरी नेपालमा सामाजिक अभियान सञ्चालन गर्दै आएको संस्थाले शिक्षा तथा सामाजिक चेतनाको अभावमा पछि परेका समुदायमा सकारात्मक सन्देश पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम वडा अध्यक्ष गोपाल चौधरीको रोहबरमा राजेन्द्र सदाको अध्यक्षतामा सुरु गरिएको थियो। स्वाधीन मधेस जन अभियानका संगठन सह–संयोजक इन्जिनियर अशेश्वर कामैत प्रमुख अतिथिका रूपमा सहभागी थिए।
“समानता र रूपान्तरणका सवालमा स्वाधीन मधेस जन अभियान र हमर आवाज नेपालबीच दृष्टिकोण मिल्दोजुल्दो छ,” प्रमुख अतिथि कामैतले भने, “अब यस्ता अभियानहरू सहकार्यमा अगाडि बढाउनुपर्छ।”कार्यक्रममा दलित समुदायका स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हमर आवाज नेपालका सल्लाहकार श्रीदेव सदाले संस्था विभिन्न मुलुकमा विस्तार भई सामाजिक जागरणमा लागिरहेको र नेपालभित्र पनि सक्रियता बढाएको जानकारी दिए। उनका अनुसार, संस्था हालसालै सार्वजनिक नौदफे उद्देश्यअनुसार अगाडि बढिरहेको छ।
संस्थाका उद्देश्यहरूमा असहाय र पीडितको आवाज बन्ने, गुणस्तरीय शिक्षामा पहुँच विस्तार, वैदेशिक रोजगारीमा रहेका नेपालीको उद्धार, महिला हिंसा तथा जातीय विभेद विरुद्धको अभियान, धर्म–सहिष्णुता र मानव अधिकारको पक्षमा सजगता आदिलाई समेटिएको छ।
स्थानीयस्तरमै यस्ता अभियानहरू सञ्चालन हुनु सशक्तिकरण र समावेशी समाज निर्माणतर्फको सकारात्मक संकेत भएको स्थानीयको प्रतिक्रिया छ।