लहान । विवाह गर्ने आश्वासन दिएर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानको मुद्दा फाँटमा कार्यरत प्रहरी जवान नवीन यादव पक्राउ परेका छन्। पीडित महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
पीडितका अनुसार यादवले दुई वर्षदेखि विवाहको आश्वासन दिँदै पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए। उनले यस विषयमा इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन खोजेकी थिइन्, तर दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा पुगेर उजुरी दिएकी हुन्।
पीडितले इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोति समक्ष गुहार मागेको बताइन्। तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै अवरोधका कारण कठिनाइ भोग्नुपरेको उनको गुनासो छ।
यस विषयमा प्रतिक्रिया दिँदै डिएसपी सोतिले आफू समक्ष पीडित महिला जाहेरी लिएर नआएको बताए। तर, आफ्नै कार्यालयका प्रहरी जवानमाथि लागेको आरोपका बारेमा अनुसन्धानमा सहयोग गरेको उनले स्पष्ट पारे।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी बिरेन्द्र पासवानका अनुसार जाहेरीका आधारमा कानुनी प्रक्रिया पूरा गरी यादवलाई पक्राउ गरिएको हो। हाल अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।