महेश सिंह लहान – सिरहाको लहान नगरपालिका-५ मा अवस्थित नेशनल एकेडेमी द्वारा कक्षा १० का विद्यार्थीहरूको विदाई तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन लहान नगरपालिका-१९ का वडाध्यक्ष मो. कमरुदिन राईन ले रिबन काटेर गरेका थिए। उनले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सही मार्ग चयन गर्न, अभिभावकको मर्म बुझ्न, र घरको परिस्थितिलाई ध्यानमा राखी अध्ययनमा निरन्तरता दिन आग्रह गरे।
विद्यालयका निर्देशक शिक्षा विज्ञ मुस्तुफा रहमानी ले नेशनल एकेडेमीले लामो समयदेखि समाजलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै, यस विद्यालयबाट उत्कृष्ट विद्यार्थी उत्पादन भइरहेको बताए। उनले विद्यालयले उर्दू, अंग्रेजी, नेपाली तथा स्थानीय भाषा समावेश गर्दै शिक्षालाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको बताए।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनका अनुसार कक्षा १० का विद्यार्थीहरूलाई शुभकामना, प्रमाणपत्र वितरण तथा विभिन्न सांस्कृतिक कार्यक्रमसहित समारोह सम्पन्न भएको थियो।
नेशनल एकेडेमी स्कुल पछिल्लो लामो समयदेखि शिक्षा क्षेत्रमार्फत समाजलाई साक्षर बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको विद्यालयका शिक्षकहरूले बताएका छन्।
विद्यार्थी तथा अभिभावकहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै नेशनल एकेडेमीलाई शैक्षिक उन्नतिका लागि अझ मजबुत बनाउन सुझाव तथा समर्थन व्यक्त गरेका थिए।