महेश सिंह लहान- लहान-३ मा संचालित लहान प्यागन पब्लिक स्कूलले प्रत्येक वर्षझैं यस वर्ष पनि भव्य रूपमा वार्षिक स्पोर्ट्स मिट सम्पन्न गरेको छ। तीन दिवसीय कार्यक्रममा विभिन्न अन्तरविद्यालयीय खेलकुद प्रतियोगिता संचालन गरियो।
कार्यक्रमको उद्घाटन स्कूलका संस्थापक प्रिन्सिपल उमेश चौधरी र पत्रकार महेश सिंहले संयुक्त रूपमा गमलामा पानी हालेर गरे। विद्यालयका अनुसार विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने तथा स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष स्पोर्ट्स मिटको आयोजना गरिँदै आएको छ।
यस वर्षको प्रतियोगितामा करिब तीन दर्जन खेल समावेश गरिएका थिए, जसमा दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। खेल प्रशिक्षक विजय यादवका अनुसार प्रतियोगिता पूर्ण रूपमा मर्यादित र अनुशासित रूपमा सम्पन्न भयो।
देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलकुद एक महत्वपूर्ण माध्यम भएको भन्दै विद्यालय प्रशासनले प्रथम हुने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा उच्च सम्मानका साथ धन्यवाद दिएको छ। विद्यालयले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै असल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ।
कार्यक्रम विद्यालय, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको थियो।