झापा, गौरादह – 2025-01-07 पद्मोदय फाउन्डेसनले झापाको गौरादह नगरपालिकामा रहेका सामुदायिक विद्यालयका १२५० गरिब, दलित र विपन्न समुदायका विद्यार्थीहरूलाई न्यानो विद्यालय पोशाक वितरण गरेको छ। यो पहलले विद्यार्थीहरूको जाडो मौसममा विद्यालयमा सहज अध्ययनको अवसर सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
पद्मोदय फाउन्डेसनका सम्पूर्ण टिम सहभागी भई कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुबेदी, उप-प्रमुख जलवर्षा राजबंसी, नगरपालिका कर्मचारी, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पद्मोदय फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले उद्घाटन सन्देशमा भने, “हाम्रो मुख्य उद्देश्य शिक्षा र सामाजिक समावेशीकरणलाई प्रोत्साहन गर्नु हो। यो कार्यक्रमले बालबालिकाको शिक्षामा थप सहजता र प्रोत्साहन प्रदान गर्नेछ। जाडोको समयमा पोशाक वितरणले विद्यार्थीहरूलाई स्वास्थ्य र पढाइमा सहयोग पुर्याउनेछ।”
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूले फाउन्डेसनको योगदानको प्रशंसा गर्दै यस प्रकारका सहयोगहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हौसला र उत्साहलाई थप बल दिने बताएका थिए। उनीहरूले भविष्यमा यस्ता सहयोगहरूको निरन्तरतामा जोड दिए।
पद्मोदय फाउन्डेसनले यसअघि पनि शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणकारी सेवामा सक्रिय भूमिका निभाउँदै आएको छ। फाउन्डेसनले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूको निरन्तरता दिने र समाजको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
पद्मोदय फाउन्डेसनका सरक्षक समाजसेवी अशोक खड्काको सहयोगमा यस प्रकारका पहलहरूले विद्यालयमा अध्ययनरत गरिब र विपन्न विद्यार्थीहरूलाई न्यानो पोशाक प्रदान गर्दै, उनीहरूको शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।