टम बेनेट
लेबननमा भएका दुई वटा छुट्टाछुट्टै घटनामा हजारौँ पेजर र रेडियो यन्त्रहरू विस्फोटन हुँदा हजारौँ मानिसहरू घाइते भए भने कम्तीमा ३७ जनाको ज्यान गयो।
कसरी ती घटनाहरू भएका थिए भन्ने विवरणहरू अझै एकसाथ आउन सकेका छैनन् र ती घटनासम्बद्ध विवरणहरू छरिएका छन्।
आफ्नो सञ्चार प्रणालीलाई इजरेलले निसानामा पारेको हिजबुल्लाह र लेबननको आरोप छ। इजरेलले भने अझै त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
ती घटनाबारे थाहा पाउन बीबीसीले ताइवानदेखि जापान, हङ्गेरी, इजरेल र लेबननसम्म पछ्याएको छ।
ती घटनाबारे केही अनुत्तरित प्रश्नहरू:
पेजरलाई कुन अवस्थामा विस्फोटक बनाइयो?
केही प्रारम्भिक अनुमानमा पेजरहरूलाई एउटा जटिल खालको ह्याकिङद्वारा विस्फोटन गराइएको ठानिएको थियो। तर विज्ञहरूले त्यसलाई तत्कालै खारेज गरिदिए।
जुन मात्रमा ती विस्फोटनले क्षति गराए त्यसका आधारमा ती पेजरहरू हिज्बुल्लाहको नियन्त्रणमा पुग्नुअघि नै तिनमा विस्फोटक पदार्थ राखिएको हुन सक्ने विज्ञहरूले बताएका छन्।
विस्फोटनमा फुटेका पेजरका साना टुक्राहरूमा एउटा सानो ताइवानी विद्युतीय उपकरण उत्पादक ‘गोल्ड एपोलो’को लोगो देखिएको थियो।
बीबीसीले उक्त कम्पनीको कार्यालयमा भ्रमण गरेको छ। त्यो कम्पनीको कार्यालय ताइपेईको उपनगरीय क्षेत्रस्थित एउटा ठूलो व्यापारिक पार्कमा रहेको छ।
उक्त कम्पनीका संस्थापक सु चिङ कुआङ उक्त घटनाबारे कुरा गर्दा स्तब्ध भए। उनले घटनामा प्रयोग भएका पेजरहरूको आफ्नो कम्पनीसँग कुनै साइनो नभएको बताए।
“तपाईँले लेबननबाट आएका तस्बिरहरू हेर्न सक्नुहुन्छ,” उनको कम्पनीको कार्यालय बाहिर भेला भएका संवाददाताहरूलाई भने, “ती उपकरणमा ताइबानमा निर्मित भन्ने कुनै पनि विवरण छैन र हामीले ती पेजरहरू बनाएका होइनौँ।”
त्यसको साटो उनले हङ्गेरीको एउटा कम्पनी बीएसी कन्सल्टिङको नाम लिए।
उनले तीन वर्षअघि ‘गोल्ड एपोलो’को ट्रेडमार्क प्रयोग गर्न बीएसीलाई अनुमति दिएको र उनीहरूले आफ्ना पेजरहरूमा त्यसलाई प्रयोग गर्न सक्ने अवस्था रहेको बताए।
उनले आफूलाई बीएसीबाट आउनु पर्ने रकम “धेरै अनौठो” तरिकाले आएको बताए। उनका अनुसार भुक्तानीका लागि समस्या भएको थियो र रकम मध्यपूर्वबाट आएको थियो।
हङ्गेरियन कम्पनीले त्यसमा के गर्यो?
हङ्गेरीको राजधानी बुढापेस्टस्थित बीएसी कन्सल्टिङ कम्पनीको दर्ताका क्रममा उल्लेख भएको कार्यालयमा बीबीसी पुगेको थियो। दर्ता गरिएको ठेगाना त्यहाँको आवासीय क्षेत्रमा थियो।
उक्त ठेगाना अन्य १२ वटा कम्पनीहरूको दर्ता गर्दाको ठेगानाका रूपमा पनि रहेको पाइएको थियो। बीबीसीलाई उक्त भवनमा रहेका कसैले पनि बीएसी कन्सल्टिङबारे कुनै जानकारी दिन सकेनन्।
हङ्गेरीका अधिकारीहरूले उक्त कम्पनी आफ्ना विवरणहरूमा पहिलो पटक सन् २०२२ मा समावेश भएको पाइएको बताएका छन्।
उनीहरूका अनुसार उक्त कम्पनी “व्यापारिक मध्यस्थताका निम्ति मात्र” खोलिएको थियो र उत्पादन कार्यका लागि त्यो कम्पनीका निम्ति कुनै पनि क्षेत्र तोकिएको थिएन।
लिङ्कडिनमा प्रकाशित एउटा ब्रोसरमा बीएसीले उसले ८ संस्थासँग काम गरेको दाबी गरेको छ।
त्यसमा यूके डेभलपमेन्ट फर इन्टरन्याशनल डेभलपमेन्ट (डीएफआईडी) समेत समावेश छ।
डीएफआईडीको जिम्मेवारी अहिले यूके फरेन अफिसले लिएको छ। बीबीसीलाई उक्त कार्यालयले त्यस मामिलामा अनुसन्धान गरिरहेको जनाएको छ।
यद्यपि प्रारम्भिक कुराकानीका क्रममा उक्त कार्यालयले बीएसीसँग आफ्नो कुनै पनि संलग्नता नभएको बताएको छ।
बीएसीको वेबसाइटमा एकजना व्यक्तिलाई उक्त कम्पनीको प्रमुख कार्यकारी र संस्थापक भनेर राखिएको छ।
उनको नाम क्रिस्टिना बार्सोनी-आर्सिडिआकोनो रहेको छ। उनीसँग सम्पर्क गर्नका निम्ति बीबीसीले गरेका कैयौँ प्रयासहरू सफल हुन सकेनन्।
यद्यपि उनले एनबीसी न्यूजसँग कुराकानी गर्दै भनेकी छन्, “म पेजरहरू बनाउँदिन। म त मध्यस्थकर्ता मात्र हुँ।”
त्यसो भए बीएसी कन्सल्टिङ वास्तविक रूपमा कसले चलाइरहेको छ त?
न्यूयोर्क टाइम्सले गरेको रिपोर्टअनुसार बीएसी कन्सल्टिङ इजरेली गुप्तचरका लागि देशबाहिर स्थापना गरिएको एउटा कम्पनी मात्र थियो।
उक्त पत्रिकाले तीनजना इजरेली अधिकारीहरूलाई उद्धृत गर्दै पेजर बनाउनेहरूको पहिचान लुकाउनका लागि अन्य तीनवटा सेल कम्पनीहरू पनि स्थापना गरिएको उल्लेख गरेको छ। वास्तममा ती पेजरहरू इजरेली गुप्तचर अधिकारीहरूले बनाएका थिए।
बीबीसीले ती विवरणहरूलाई पुष्टि गर्न सकेको छैन तर अहिले बुल्गेरियन अधिकारीहरूले बीएसीसँग जोडिएको एउटा अर्को कम्पनीबारे अनुसन्धान थालेको बीबीसीलाई थाहा भएको छ।
बुल्गेरियाको प्रसारक बीटीभीले बिहीवार लेबननमा भएका आक्रमणसँग जोडिएको १६ लाख युरो बराबरको रकम बुल्गेरिया हुँदै गएको र त्यो पछि हङ्गेरी पठाइएको विवरण प्रसारण गरेको थियो।
रेडियो उपकरणमा कहाँ र कसरी गडबड भयो?
तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन, जापानको वाकीटकी निर्माताले १० वर्षयता उत्पादन नभएको आफ्नो उपकरण प्रयोग गर्दा भएको विस्फोटनबारे छानबिन गरिने बताएको छ
दोस्रो पटकका विस्फोटनहरूमा प्रयोग भएका रेडियो उपकरणहरूको उत्पत्तिबारे अस्पष्ट जानकारी छ।
हामीलाई उक्त घटनामा विस्फोट भएका केही उपकरणहरू आईसी-भी८२ मोडेलका थिए र ती उपकरणहरू जापानी कम्पनी आईकमले बनाएको थियो भन्ने थाहा छ।
रोएटर्स न्यूज एजेन्सीसँग कुराकानी गरेको सुरक्षा स्रोतले ती उपकरणहरू हिजबुल्लाहले पाँच महिनाअघि किनेको उल्लेख गरेको छ।
त्यसअघि आईकमको एउटा अमेरिकी सहायक कम्पनीका बिक्री प्रमुखले एसोसिएट प्रेस समाचार एजेन्सीसँग लेबननमा विस्फोट भएका रेडियो उपकरणहरू उनीहरूका जस्तै देखिने र उनीहरूले उत्पादन नगरेका उपकरणहरू जस्ता देखिएको बताएका थिए। उनले अनलाइनहरूमा उनको कम्पनीका जस्तै देखिने नक्कली उपकरणहरू पर्याप्त पाइने दाबी गरेका थिए।
बीबीसीले अनलाइन व्यापारिक साइटहरूमा राखिएका आईकम आईसी-भी८२ हरू हेरेको थियो।
आईकमले एउटा विज्ञप्तिमा उसले सन् २०१४ को अक्टोबरबाटै उक्त मोडल बनाउन छाडेको र अहिले त्यसमा प्रयोग हुने ब्याट्री पनि उत्पादनलाई बन्द गरेको जनाएको छ।
उक्त कम्पनीले आफूले विदेशमा कुनै पनि उपकरण बनाउनका लागि ‘आउटसोर्सिङ’ नगरेको र सबै रेडियो उपकरणहरू आफ्नो फ्याक्ट्री रहेको पश्चिमी जापानमै उत्पादन हुने बताएको छ।
क्योदो न्यूज एजेन्सीका अनुसार आईकमका निर्देशक योशिकि इनोमोयोले विस्फोटन भएका वाकिटकीहरूको तस्बिरका आधारमा ब्याट्री रहेको स्थानमा भएको क्षतिलाई हेर्दा ब्याट्रीहरूलाई विस्फोटक पदार्थसहित पुन: जडान गरिएको जस्तो देखिएको बताएका छन्।
कसरी उपकरणहरू विस्फोट गराइयो?
विस्फोटनपछि सार्वजनिक भएका भिडिओहरूमा पीडितहरूले विस्फोटन हुनुभन्दा केही सेकेन्डअघि आफ्नो गोजीमा हात राखेको देखिन्छ। त्यसपछि सडक, पसलहरू, घर र देशैभरि अस्तव्यस्त अवस्था बनेको देखिन्छ।
रोएटर्स न्यूज एजेन्सीले हेरेको संयुक्त राष्ट्र सङ्घको लेवनानस्थित मिशनलाई पठाइएको पत्रमा लेबननका अधिकारीहरूले ती उपकरणहरूमा पठाइएको विद्युतीय सन्देशका माध्यमबाट विस्फोट गराइएको थियो भन्ने निष्कर्ष निकालेका छन्।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेअनुसार उपकरणहरू विस्फोट हुनुअघि हिजबुल्लाहका नेताले पठाएको जस्तो सन्देश ती उपकरणहरूमा प्राप्त भएका थिए। तर ती सन्देशहरूले उपकरण विस्फोट गराउनका लागि भूमिका खेलेको उसले जनाएको छ।
हामीलाई रेडियो उपकरणहरू विस्फोटन गराउनका लागि कस्ता सन्देशहरू पठाइएको थियो भन्ने हालसम्म जानकारी छैन।
अन्य उपकरणहरूमा पनि गडबड हुन सक्छ?
लेबननका धेरै मानिसहरूले के अन्य उपकरणहरूमा पनि गडबड गरिएको छ भन्ने प्रश्न अहिले सोधिरहेका छन्। उनीहरूमा क्यामरा, फोन र ल्यापटपहरूसहित अन्य उपकरण पनि त्यस्तैगरी कसैले नियन्त्रणमा लिएर विस्फोटन हुने अवस्थामा त पुर्याइदिएको छैन? भनेर डराइरहेका छन्।
लेबननको सेनाले कतिपय त्यस्ता उपकरणहरूलाई रिमोट कन्ट्रोलबाट चल्ने बम ‘डिस्पोजल’ गर्ने रोबोटको प्रयोग गर्दै नियन्त्रित रूपमा विस्फोटन गराउन थालेको छ।
बीबीसीको लेबननस्थित टोलीलाई पनि उनीहरूका फोन तथा क्यामेराहरू प्रयोग नगर्न भनिएको छ।
“हरेक व्यक्ति तनावमा छन्… हामीलाई थाहा छैन के हामी हाम्रो फोन वा ल्यापटक नजिकै बसेका छौँ कि? हरेक कुराहरू यो अवस्थामा खतरनाक लाग्न थालेका छन् र कसैलाई थाहा छैन के के गर्ने भनेर,” एक जना महिला घिदाले संवाददातासँग भनिन्।
अहिले किन भयो आक्रमण?
तस्बिर स्रोत, Getty Images
यसै साता मात्र ती उपकरणहरू विस्फोटन हुने अवस्था कसरी आयो भन्नेबारे धेरै खाले मतहरू देखिएका छन्।
एउटा मत अनुसार गत वर्ष अक्टोबर ७ मा इजरेलमाथि भएको हमलाको भोलिपल्टदेखि उक्त देशको उत्तरी सीमामा रकेट प्रहार गरिरहेको हिजबुल्लाहलाई एउटा निकै खतरनाक सन्देश दिनका लागि इजरेलले यी विस्फोटनहरू गराएको हुन सक्ने देखिन्छ।
अर्को मत अनुसार इजरेलले आफ्नो योजनालाई अहिले नै कार्यान्वयन गर्ने योजना बनाएको थिएन तर आफ्नो षड्यन्त्र खुल्ने डरले उसले अहिले नै ती विस्फोटनहरू गराएको हो।
अमेरिकी समाचार वेबसाइट एक्सिओसका अनुसार समग्र खालको युद्ध हुँदाखेरि हिजबुल्लाहका लडाकुहरूलाई अपाङ्ग बनाउने एउटा योजना अनुरूप इजरेलले पेजर आक्रमणलाई आफ्नो रणनीतिका रूपमा राखेको थियो।
तर हिजबुल्लाहले पेजर तथा उसका रेडियो उपकरणहरूबारे सन्देह गरिरहेको इजरेलले जानकारी पाएपछि अहिले नै ती उपकरणलाई विस्फोट गराएको हो। बीबीसी न्यूज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like this: Like Loading...