सिरहा । सिरहाको औरही गाउँपालिकाका गाउँपालिका अध्यक्ष शिवजी यादवले सार्वजनिक जग्गा एक व्यक्तिको नाममा सिफारिस गरिदिएको पाईएको छ ।
सिरहाको औरही गाउँपालिका वडा नं. ५ स्थित रहेको १ कठ्ठा १० धुर जग्गा मात्र श्रेस्तामा रहेपनि गाँपा अध्यक्ष यादवले स्थानीय शिवराम यादवको नाममा ६ कठ्ठा जग्गा सिफारिस गरिदिएको पाईएको हो ।
२००४ सालको नापी अनुसार सकनी गुवारनीको नाममा रहेको साबिक औरही गाविस वडा नं. ८(ख) को २१५ नम्बरको कित्ता तत्कालिन श्री ५ को सरकारको नाममा भएपनि गाउँपालिका अध्यक्षले शिवराम यादवको नाममा सिफारिस गरिदिएको पाईएको हो । उनले केही जग्गालाई ६ कठ्ठा जमिन अतिक्रमण गर्ने गरी सिफारिस गरिदिएपछि अदालत गुहारेको हो ।
२०४८ सालमा आएको भूमि सुधारबाट प्रमाणपत्र लिएकोमा हाल कित्ता नं. २१५ मा श्री ५ सरकारको नाममा गएको देखिएको छ । सो जग्गामा शिवराम यादवले भोगचलन गर्न थालेपछि अदालतमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदालत सिरहामा जग्गा खिचोलाको मुद्दा दायर भएकोमा सो जमिन सरकारकै नाममा रहेको देखाइएको छ । यद्यपी, शिवराम यादवले सो जग्गामा भोगचलन रोकेका छैनन् ।
गाउँपालिका अध्यक्ष शिवजी यादवले लाखौँ रुपैयाँ लिएर सो जग्गा शिवराम यादवको नाममा सिफारिस गरेको आरोप छ । करोड बढी मूल्य पर्ने सो जग्गा हथियाउनको लागि गाउँपालिका अध्यक्ष यादवले नै योजना बनाएको बुझिएको छ । यस सन्दर्भमा गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् । enewsbureauबाट