महोत्तरी : महोत्तरीको औरही नगरपालिकामा मिटर ब्याजीले गरिब तथा विपन्न वर्गलाई बजार सिस्टममा ऋण दिएर बिच्चलीमा पारेको एकपछि अर्को घटना बाहिरिदै गएको छ ।
वडा नम्बर १ की स्थानीय ममता मण्डललाई ७० हजार रुपैँया दिएर तीन वर्षभित्रै साक्षी बसेकी स्थानीय तारा मण्डलबाट १५ लाख बढी रुपैँया अशुलीसकेका मिटरब्याजीले आधा दर्ज बढी परिवारलाई विचल्लीमा पारेका मिटरब्याजीलाई उठिबास गराएको खुल्नसाथ फेरि नयाँ घटनाहरु फेला परेका छन् ।
घर बनाउन तीन लाख रुपैँया ऋण लिएकी वडा नम्बर १ की ५५ वर्षीया श्रीपति साहलाई बजार सिस्टममा मासिक ४८ हजार रुपैँया ब्याज लिनेगरी ऋण दिएर बिचल्लीमा पारेको घटना बाहिरिएको छ । करिब १८ वर्षअघि नै श्रीमान् बितेपछि ६ छोराछोरीको लालनपालन र बिहेबारी गरेकी उनी वृद्धावस्थामा समेत टोकरीमा चुरा बोकेर कस्मेक्टिक सामान बेचेर गुजारा चलाउँछिन् ।
वर्षायाममा घरमै पानी पस्ने र छानोसमेत चुहिने घरमा गुजारा गर्नुपर्ने उनको बाध्यता देखेर स्थानीय रामपुकार साहले तुरन्तै घर बनाइहाल्न सुझाव दिँदै ऋण सहयोग गरेका थिए । तीनवर्ष अघि श्रीपतिले रामपुकारबाट ३ लाख रुपैयाँ कर्जा लिइन् । पुकारले उनको बाध्यताको फाइदा उठाउँदै बजार सिस्टममा भन्दै उनलाई कर्जा दिए ।
एकअर्कालाई सहयोग गर्दै आएका दुवै जनाबीच राम्रै सम्बन्ध भएकाले श्रीपतिले बजार सिस्टममा ऋण लिन तयार भएकी थिइन् । तर बजार सिस्टममा कति रुपैयाँ ब्याज तिर्नुपर्ने भन्ने पुकारले स्पष्ट रूपमा नबताएको उनी सुनाउँछिन् । पुकारले गाउँमा बजार लाग्ने हरेक बजारमा ६ हजार रुपैयाँ तिर्दा तुरन्तै ऋण चुक्ता भइहाल्ने आश्वासन दिएको उनी बताउँछिन् । ‘हरेक बजार तिर्ने रुपैयाँले सावाँ पनि कट्टा हुँदै जाने मैले बुझेकी थिएँ तर एक बजारको ब्याज मात्र ६ हजार रुपैयाँ तिर्नुपर्ने भन्ने सुनेपछि मेरो होस नै उड्यो,’ श्रीपतिले भनिन् ।
बजार सिस्टममा ५० हजारको एक बजारमा १ हजार रुपैयाँ तिर्नुपर्ने गरी उनलाई ऋण दिएका थिए । औरहीमा मंगलबार र शुक्रबार गरी हप्तामा दुई दिन बजार लाग्ने गर्छ । महिनामा जम्मा आठ दिन बजार पर्छ । त्यस हिसाबले ३ लाख रुपैयाँको प्रति महिना ४८ हजार रुपैयाँ तिर्नुपर्ने भयो । त्यस हिसाबले १५ हजार रुपैयाँ मात्र तिर्न सकेपछि उनलाई पुकारले तुरन्त ब्याज बुझाउन तकेता गर्न थाले ।
तर तत्कालै तिर्न नसक्ने बताएपछि पुकारले पैसा दिएको कागज बनाए । कागजमा कति रुपैयाँ ऋण र ब्याजदर लेखिएको थियो उनलाई अझै पत्तो छैन । ‘म पढेलेखेको छैन । मसँगै गाउँकै एकजना अर्की महिला पनि गएकी थिइन् । मलाई औँठाछाप लगाउन लेखनदासले भन्नुभयो, मैले लगाइदिएँ । त्यहाँ पुकारकै चिनजानका तीन जना साक्षी बसेका थिए,’ उनले थपिन् ।
तर एक दिन गाउँमै पुकारकी माइजू पर्ने महिलाले तुरन्तै पैसा नतिर्दा एक जनाको जग्गा हडपेको सुन्दा श्रीपति झस्किइन् । आफन्त र छिमेकीसँग सल्लाह गर्दै आफ्नो नाममा रहेको ६ धुर जग्गा राखेर धनुषाको महेन्द्रनगरस्थित साना किसान लघुवित्त बैंकबाट उनले ऋण लिएको करिब ६ महिनापछि ३ लाख रुपैयाँ झिकेर पुकारलाई बुझाइन् । तर पुकारले बाँकी ब्याज रकमसमेत तुरून्त तिर्न भनेपछि उनी ग्रामीण विकास लघुवित्त बैंकबाट फेरि २ लाख रुपैयाँ झिकेर उनलाई बुझाइन् । तर पुकारलाई पैसा बुझाएको उनले कुनै लिखित प्रमाण राखेकी छैनन् ।
‘मैले बैंकबाट लिएको ऋणको ब्याज अझै तिरिरहेकी छु । पुकारलाई पैसा बुझाइसकेपछि कागजमा लेखेर दिन भनेको थिएँ तर उनले क्यालेण्डरमा मैले टिक लगाइसकेँ भनेर फर्काइदिए । कर्जा लिने अरुबाट पनि बुझ्दा पैसा तिरेको कुरा कसैलाई कागजमा लेखेर दिइँदैन भनेपछि मैले पनि त्यति वास्ता गरिनँ,’ श्रीपतिले भनिन् ।
५ लाख रुपैयाँ तिरिसकेपछि उनले रामपुकारबाट कपाली तमसुक मागिन् । तर अझै ८ लाख रुपैयाँ ब्याज बाँकी रहेको बताउँदै उनले घडेरी आफ्नो नाउँमा गरिदिन दबाब दिए । घडेरी आफ्नो नाममा नदिए मुद्दा हाल्ने धम्की दिए । यो कुरा थाहा पाएपछि उनका पाँचै जना ज्वाइँ मिलेर ४ लाख रुपैयाँ लिएर राम पुकारलाई दिन गए । तर उनले ८ लाखभन्दा एक रुपैयाँ कम नलिने अडान लिए ।
उनले भनिन्, ‘घडेरी उनको नाउँमा गरिदिएपछि म कहाँ जान्छु ? मेरा छोराबुहारी कहाँ जान्छन् भनेर मैले मानिनँ । तर जति बिन्ती गर्दा पनि उनले ममाथि मुद्दा हालेरै छोडे ।’ ८ लाख रुपैयाँको मुद्दा जिल्ला अदालतमा हालेको थाहा पाउँदै उनी बेहोस भएर ढलिन् र अस्पताल भर्ना भइन् । उनका अनुसार २ लाख प्रतिधुर बिक्री हुने उनको ६ धुर जग्गा पुकारको नाउँमा नगरिदिएपछि पटकपटक गाउँमा गालीबेज्जतीसमेत गरेका थिए ।
औरही नगरपालिका २, मुसहरी टोलकी २७ वर्षीया उर्मिला सदाले २०७४ साल जेठमा स्थानीय मिटरब्याजी विजयकुमार चौधरीसित ५० हजार रुपैयाँ लिइन् । आर्थिक तथा सामाजिक विपन्नताका कारण जरुरी पर्दा गाउँमा कतैबाट कर्जा नपाएपछि उनी अन्ततः चौधरीसित बजार सिस्टममै रुपैयाँ लिन बाध्य भइन् । ५० हजार रुपैयाँको महिनामा ८ हजार रुपैयाँ तिनुपर्ने उनी कतैबाट पैसाको आम्दानी नभएपछि मात्र ६ हजार रुपैयाँ तिर्न सकिन् ।
तर छ महिना नबित्दै श्रीमान् वीरे सदालाई वैदेशिक रोजगारीका लागि जानुपर्दा फेरि उनै मिटरब्याजी चौधरीसँग ऋण लिनुबाहेक उनीसति कुनै विकल्प थिएन । उर्मिलाले उनीसित फेरि ५० हजार रुपैयाँ कर्जा लिइन् । तर विदेशमा काम चल्न थालेपछि वीरेले पठाएको रकमबाट उर्मिलाले तीन महिनामै उनको ५० हजार रुपैयाँ फिर्ता गरिदिइन् ।
५६ हजार रुपैयाँ तिरिसकेपछि उनी ३६ प्रतिशत मासिकको हिसाबले चौधरीलाई ब्याज लिन आग्रह गरिन् । तर चौधरीले भने बजार सिस्टममै ब्याजसहित सावाँ चुक्ता गर्न पटकपटक दबाब दिन थाले । बजार सिस्टमको ब्याजअनुसार कमाएर मात्र धेरै पैसा तिर्न नसक्ने देखेपछि चौधरी कार्यरत रहेको औरही बजारस्थित साझा लघुवित्तबाट उनले १ लाख रुपैयाँ ऋण झिकिन् । सो रकम उर्मिलाले चौधरीलाई बुझाइन् ।
‘पैसा दिएको कागज माग्दा उनले ममाथि विश्वास छैन र ? भन्दै दिएन । अझै पैसा तिर्नुपर्छ भनेर १ लाख रुपैयाँ निकालेकै दिन बैंकमै कागजमा सही गराइहाले । कति रुपैयाँ कुन ब्याजदरमा कागज बनायो, त्यो मलाई केही थाहा छैन,’ उनले भनिन् ।
समान्य लेखपढसमेत गर्न नजानेकाले चौधरीले भनेअनुसार औँठा छाप लगाएको उनले बताइन् । पटक पटक गरी साढे ४ लाखभन्दा बढी रुपैयाँ चौधरीलाई तिरिसक्दासमेत उनले अझै पैसा तिर्नुपर्ने बताएपछि अन्त्यमा उनले आफ्नी सासू रामो सदाको नाउँमा रहेको १७ धुर घडेरी नै चौधरीको नाउँमा पास गरिदिन बाध्य भइन् ।
‘कागज मागेपछि साढे ७ लाख रुपैयाँको यो घडेरी मेरो नाउँमा गरिदेऊ, अनि दिन्छु भनेर जग्गा पास गराए । कागज मालपोत कार्यालय जलेश्वरमै दिन्छु भने । तर जग्गा पास गरेपछि पनि उनले कागज फिर्ता गरेनन् । अब अझै पैसा तिर्न छ भनिरहेका छन्,’ उनले थपिन् ।
अर्का मिटरब्याजी सुशील चौधरीबाट ‘बजारको हजार’ सिस्टममा ऋण लिएकी स्थानीय रामशिला चौधरीलाई समेत गाउँबाटै उठिबास हुने चिन्ताले सताउन थालेको छ । २०७६ असारमा छोरीको विवाहका लागि डेढ लाख रुपैयाँ कर्जा लिएकी उनी ६ महिनापछि दुई पटक गरी ५५ हजार रुपैयाँ ब्याज मात्र तिर्न सकिन् ।
जबकि बजार सिस्टमअनुसार महिनाको २४ हजार ब्याज मात्र तिर्नुपर्ने थियो । ६ महिनापछि चौधरीले २ लाख रुपैयाँ सावाँको बजार सिस्टममा ब्याज तिर्नुपर्ने १० लाख रुपैयाँ ऋण लिएको भनी कपाली तमसुक बनाए । उनका अनुसार हालसम्म चौधरीलाई ३ लाख रुपैयाँ तिरिसकेकी छन् । तर मिटरब्याजीले छिमेकीको उठिबास भएको देखेकी उनी आफ्नोसमेत उठिबास हुने चिन्ताले ग्रसित छिन् ।
औरही गाउँकी तारा मण्डल, श्रीपतिदेवी साह, उर्मिला सदा र रामशिला चौधरी मिटरब्याजीको आतङ्कमा जीवनै तरवारको धारमा रहेको महसुस गर्ने प्रतिनिधि पात्र मात्र हुन् । औरही गाउँका दर्जनौँ गरिब ‘बजारको हजार’ सिस्टमको ऋणमा डुबेर आफ्नो मात्र होइन्, भावी सन्ततिको भविष्य नै अँध्यारोतर्फ जाँदै गरेको महसुस गर्दै छन् ।
गरिब यसरी फस्छन् मिटरब्याजीको चङ्गुलमा
औरहीका गरिब तथा अशिक्षित वर्ग जरुरी पर्दा गाउँमै पैसा लगानी गर्ने व्यक्तिकहाँ पुग्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थामा पहुँच अभाव र झन्झटिलो प्रक्रिया देखेर स्थानीय साहुसँग पैसा लिन पुग्ने गरेको मिटरब्याजी चौधरीबाट पीडित स्थानीय रामचन्द्र मण्डलले बताए ।
‘बैंकमा सोर्स पुग्दैन । धेरै कागज माग्छन्, लेखपढ नभएका मान्छे बैंकको प्रक्रिया नै बुझ्न सक्दैनन्,’ उनले भने, ‘यहाँ पैसा लगानी गर्नेहरूले बैंक, सहकारीमा जग्गा धितो राखेर सस्तो ब्याजमा ५०औँ लाख रुपैयाँ निकालेका छन् । कुन गरिबलाई कति खेर पैसा जरुरी पर्छ, तिनै मिटरब्याजी खोज्दै हिँड्छन् ।’ बैंकका बारेमा धेरै नबुझ्नु र गाउँमा सस्तो ब्याजदरमा कोही ऋण लगानी नगर्ने भेटिएपछि बाध्य भएर मिटरब्याजीकै शरणमा पुग्नुपरेको पीडित तारा मण्डलले बताइन् ।
‘कसैको घरपरिवारलाई इमेर्जेन्सीमा उपचार गर्नुप¥यो वा अर्कै केही नभई नहुने जरुरी आइपरे के गर्ने ? मर्न दिने ? बचाउन कहाँबाट पैसा ल्याउने ? लकडाउनमा काम पाइएन, गरिबले कहाँबाट खाने ? ऋण नलिई बाँच्नै नसक्ने स्थिति छ हाम्रो,’ उनले पीडा पोखिन्, ’महाजन यस्तै स्थितिको पर्खाइमा हुन्छन् । उनीहरू मौका मिल्नासाथ बजार सिस्टममा ब्याज लिने र जति मन लाग्यो उति रुपैयाँको कागज बनाउने । कतिपयले छिमेकीको देखासिकीमा पनि बैंकको झन्झटभन्दा मिटरब्याजीबाटै ऋण उठाउने गरेको पीडित श्रीपति साहको अनुभव छ ।
गरिबको उठिबास, मिटरब्याजीलाई मालामाल
स्थानीयका अनुसार मिटरब्याजीको आतङ्कबाट पाँच वर्षयता गाउँबाट आधा दर्जनभन्दा बढी व्यक्ति विस्थापित भइसकेका छन् । धाकधम्की तथा कुटपिट गर्दै बजार सिस्टममा ऋण तिर्न नसक्ने उनीहरूको घरजग्गा नै आफ्नो नाउँमा पार्ने गरेका छन् ।
मिटरब्याजीको आतङ्कबाट औरही बजार टोलकै नथुनी साह, मदन चौधरी, लक्ष्मण झा, राजु राउत विस्थापित भइसकेका छन् । ऋण तिर्न नसक्दा मिटरब्याजीको पिटाइबाट वृद्ध मदन चौधरीको एक वर्षअघि मृत्युसमेत भएको स्थानीयको दाबी छ । तर मिटरब्याजीको सम्पत्ति अप्रत्याशित रूपमा बढ्दै गएको छ ।
करिब सात वर्षअघिसम्म औरही बजारमा सानो फेन्सी पसल थापेर गुजारा गर्दै आएका मिटरब्याजी रामपुकार साह अहिले बजारमै तीनतले ठूलो घर बनाए बसेका छन् । पछिल्लो समय बजारकै ठूलो किराना पसल र फेन्सी पसल सञ्चालन गरेका छन् । यसका अतिरिक्त उनी विगाहका बिगाह जग्गासमेत खरिद गरेका छन् । जग्गा विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोमा राखी ५० लाखभन्दा बढी रुपैयाँ मिटर ब्याजमा लगानी गरेका छन् ।
अर्का मिटरब्याजी विजय चौधरीले समेत विभिन्न बैंक तथा वित्तीय संस्थामा जग्गा धितोमा राखेर लाखौँ रुपैयाँ बजार सिस्टममा लगानी गरेका छन् । किराना पसल सञ्चालक रामपुजन चौधरीसमेत औरहीका ठूलै मिटरब्याजीको रूपमा गनिन्छन् । त्यसैको कमाइबाट उनी पछिल्लो समय इँटाभट्टा सञ्चालनसमेत गरेका छन् । स्थानीयका अनुसार ग्यास व्यवसायी सन्तोष साह, स्टेसनरी व्यवसायी श्याम यादवलगायत दर्जनौँ मिटरब्याजीले गरिबको चैन खोसेका छन् ।
कारबाही किन हुँदैन ?
मिटरब्याजीको आतङ्कबाट गाउँका दर्जनौँ गरिब पीडित भए पनि हालसम्म मिटरब्याजी विजय चौधरीविरुद्ध मात्र प्रहरीमा उजुरी परेको छ । तर, विजय आफैँ ऋणमा डुबेको र उनको घरमा कुनै कागजात फेला नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले उनलाई उन्मुक्ति दिएको छ । स्थानीय रामचन्द्र मण्डलका अनुसार विजय, रामपुकारलगायतका मिटरब्याजीका ‘खौफ’ का कारण उनीहरूविरुद्ध कोही बोल्दैनन् । पैसाको बलमा मन्त्रीसम्मै पहुँच भएकाले उनीहरूविरुद्ध बोल्ने आँट कसैले नगरेको उनले बताए ।
‘उनीहरूलाई न पैसाको कमी छ, न पावरकै । मन्त्रीसम्मै पहुँच राखेका छन् । गाउँमा सानो विवाद पर्दा पनि नेताहरूले उनीहरूलाई नै साथ दिन तयार हुन्छन्,’ स्थानीय रामपृत मण्डलले थपे । पछिल्लो प्रदेशसभाको निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (क) का तत्कालीन नेकपा माओवादी केन्द्रका प्रत्यासी रामबाबु चौधरी मिटरब्याजी विजयको सबभन्दा ठूलो सहयोगी मानिन्छन् । उनी विजयका आफन्त पर्छन् ।todapati