नयाँ दिल्ली : चीनसँगको सीमा समस्या बढ्दै गएपछि भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार जुनसुकै अवस्थाका लागि पनि तयारी अवस्थमा रहेको बताएका छन् ।
उनले संसदमा बोल्दै भने, “म तपाईंहरुलाई आस्वस्थ पार्न चाहन्छु कि हामी चीनसँगको सीमा विवादको विषयमा जुनसुकै अवस्थाका लागि पनि तयारी अवस्थामा छौं । म सदनलाई सीमा रक्षार्थ तैनाथ भएका सेनासँग काँधमा काँध मिलाएर साथ दिन तयार रहने प्रतिबद्धताका जाहेर गर्न आग्रह गर्दछु । हाम्रो देशको सार्वभौम र एकताको रक्षाका लागि सीमाका सेनालाई हामीले कुनै पनि मनोबल घटाउने अभिव्यक्ति र व्यवहार गर्नु हुँदैन ।”
चीनले विगतमा एलएसीको महत्व बिर्सिसकेको छ र उ कुनै पनि हालमा भारतमा अतिक्रमण गर्ने रणनीतिमा अघि बढेकोले त्यसलाई रोक्न भारत सक्षम भएकोसमेत उनले बताए ।
“विगतदेखि नै भारत-चीन सीमा समाधान हुन बाँकी छन् । त्यसको मध्यमार्गी समाधानका लागि एलएसी सिर्जना गरिएको हो । तर, आफ्नो हिजोको सहमति बिर्सिएर चीन अघि बढिरहेको छ । हामीले चीनलाई सम्झाउन आवश्यक छ कि उक्त सीमांक अन्तर्राष्ट्रिय भौगोलिक सिद्धान्तका आधारमा गरिएको हो भनेर । तर, चीनले अतिक्रमण गरेमा भारत शान्त बस्न सक्दैन ।”
दुबै मुलुकले सीमा क्षेत्रमा शान्ति र यथास्थिति कायम राख्ने र थप सेना नपठाउने सहमति गरे पनि चीनले बारम्बार उक्त सम्झौता उल्लंघन गर्दै आएको रक्षामन्त्री सिंहको आरोप छ ।
एलएसीको उल्लंघन गर्नु भनेको चीनले विगतका सम्पूर्ण सम्झौताको उल्लंघन गर्नु भएकोसमेत उनले बताएका छन् ।