काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग निश्चित छ, तर गठबन्धनको आकार प्रस्ट भइसकेको छैन । पाँचदलीय चुनावी गठबन्धनको बहुमत नभएकाले अन्य दललाई पनि समेट्ने कोसिस चलिरहेको छ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा आउन खोजिरहेका छन् । त्यसकारण पावर सेयरिङका विषयमा औपचारिक रूपमा छलफल भएको छैन ।
गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको योजना छ ।
प्रधानमन्त्री देउवा सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् । सरकार निर्माणका लागि एक मत पनि महत्त्वपूर्ण रहेकाले संसद् बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा उनी रहेको स्रोतले जनाएको छ ।
कम्युनिस्ट व्यक्ति राष्ट्रपति हुँदा सरकार सञ्चालनमा कतिसम्म सकस हुँदो रहेछ भन्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्टि गरेकी छन् । उनले कम्युनिस्ट प्रधानमन्त्री हुँदा एउटा व्यवहार र कांग्रेस प्रधानमन्त्री हुँदा फरक व्यवहार गर्दै आएकी छन् ।
यही कारण पनि प्रधानमन्त्री देउवा कांग्रेसबाटै राष्ट्रपति बनाउने मनस्थितिमा देखिएका हुन् । कांग्रेसमा पनि अरु राजकीय पद बाँडफाँड गरेर भए पनि राष्ट्रपति आफैंले राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।
नेताहरूका अनुसार अबको सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ ।
राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकांक्षीले दौडधुप गरिरहेका छन् । आकांक्षीमध्ये धेरैजसो नेता आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेकाले यसपटक सकेसम्म उच्च संवैधानिक पद प्राप्तिका लागि अन्तिमसम्म प्रयास गर्ने तयारीमा रहेको देखिएको छ ।
कांग्रेसबाट राष्ट्रपति भएमा रामचन्द्र पौडेल सबैभन्दा अगाडि छन् । यदि पौडेल नबने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनुपर्ने लबिङ सुरु भएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपुर्याएपछि एकीकृत समाजवादी राष्ट्रिय दल बनेको छैन, जसले नेपालमाथि दबाब बढेको छ । १० सिटमा सीमित भएका कारण एकीकृत समाजवादीको राजनीतिक दाबी कमजोर भएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टी राजनीतिमा सीमित पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिको इच्छा व्यक्त गरेका छन् । तर उनलाई बनाउन नहुने धेरैको मत छ ।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफू बन्न नसके राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएका छन् । त्यसका लागि अहिलेदेखि नै उनले तीन नेतालाई प्रोजेक्सन गरिरहेका छन् ।
माओवादीका अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा र नन्दबहादुर पुन राष्ट्रपति बन्न कसरतमा लागेका छन् । सापकोटा र महरा दुवै विवादास्पद नेता हुन् । त्यसैले उनीहरूलाई राष्ट्रपति बनाउन नहुने धेरैको धारणा छ ।














