काठमाडौं । स्थापनाको तीन महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्न सफल भयो । राष्ट्रिय दल मात्रै होइन, २० सिटसहित संसदको चौथो शक्तिका रुपमा स्थापित भयो ।
ठूला पार्टीहरुको केही आकार समेत घटाइदिएर उदाएको यो दल नयाँ सरकार निर्माणका लागि निर्णायक शक्तिसमेत हो । रास्वपा नयाँ शक्तिका रुपमा उदाएसँगै सरकार बनाउन हैसियत राख्ने दलहरु उसलाई विश्वासमा लिनका लागि छिनाझपटी गर्नेछन् भन्ने सामान्य अनुमान गर्न सकिन्थ्यो । तर अहिलेसम्म रास्वपा उनीहरुको प्राथमिकतामा देखिन्न । निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन पहल गरिरहेको छ । गठबन्धनमा समेत रहेकाले नेकपा एमाले भन्दा नेपाली कांग्रेसलाई बहुमतको सरकार गठन गर्न सहज छ । यस्तो अवस्थामा एमाले ‘पर्ख र हेर’को अवस्थामा मात्रै छ भने नेपाली कांग्रेसले नै नयाँ सरकार गठनका लागि संवाद तीव्र पारेको छ । सरकार गठनका लागि थोरै सिट अपुग हुने भएकाले कांग्रेसले रास्वपा भन्दा नयाँ दलका रुपमा आएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग औपचारिक रुपले संवाद बढाएको छ । कांग्रेस मात्रै होइन, गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईलगायतका नेताहरु सीके राउत र रेशम चौधरीलाई प्राथमिकताका साथ भेटिरहेका छन् । सरकार गठनकै लागि सहज बनाउन सरकारले जेलमा रहेका रेशम चौधरीलाई छुटाउन मिल्ने गरी अध्यादेश समेत ल्याएको छ ।