काठमाडौं । प्रदेशसभाको दुवैतर्फको मतपरिणाम आएसँगै लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेपाली कांग्रेसले अन्य दलहरुसँग छलफल सुरु गरेको छ । एकल बहुमत कसैको पनि नआएपछि कसको नेतृत्वमा कस्तो सरकार बन्ने भन्न बहस चलिरहेका बेला कांग्रेसले अन्य दलहरुलाई मिलाउन सुरु गरेको हो । प्रदेश संसदमा नेकपा एमाले अगाडी रहेपनि कांग्रेसबाटै मुख्यमन्त्री बन्ने निश्चित छ ।
कांग्रेसबाट लुम्बिनीको मुख्यमन्त्रीका प्रबल दावेदार रहेका अमरसिंह पुन पराजित भएपछि अन्य आकांक्षीहरु मुख्यमन्त्री बन्न तम्सिएका छन् । लुम्बिनी कांग्रेसका सभपतिसमेत रहेका पुनलाई नेकपा माओवादीले धोका दिएपछि उनी रोल्पाबाट पराजित भएका थिए । लुम्बिनीमा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको सहयोग आवश्यक देखिएको छ । जनमतसँग कांग्रेसको सहमति भइसकेको छ भने उन्मुक्तिसँग छलफल चलिरहेको छ ।
कांग्रेसबाट लुम्बिनीमा मुख्यमन्त्रीका लागि राजु खनाल, डिल्लीबहादुर चौधरी, जन्मजय तिमिल्सिना, बीरबहादुर राना र अब्दुल रज्जाक आकांक्षी देखिएका छन् । यसअघि एमालेबाट मुख्यमन्त्रीका दाबेदार मानिएका घनश्याम पाण्डेले दाङबाट पराजय भोग्दा कांग्रेसका निर्वातमान प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडिया कपिलवस्तुबाट पराजित भएका छन् । एमालेको सरकार बनेमा लिला गिरी, भूमिश्वर ढकाल पनि दौडधूपमा लागेका छन् ।
कांग्रेसका राना संस्थापन इतरसमूहका हुन भने बाँकी संस्थापन पक्ष नजिक मानिन्छ । राजु खनाल पूर्वसांसद पनि हुन् । चौधरी कमैया मुक्ति आन्दोलनका अगुवा हुन । उनलाई उन्मुक्ति पार्टीले सहयोग गर्नसक्ने देखिएको छ । उसँग चार सांसद रहेका छन् । जन्मजय तिमिल्सिना नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्षसमेत भएका थिए उनी नेपाली कांग्रेसमा देशव्यापी नेटवर्क भएका, कुशल संगठनकर्ता र इमान्दार नेताको रुपमा चिनिन्छन् ।
तिल्सिना र खनाललाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्को पनि साथ छ भने बीरबहादुर राना पनि पुराना कांग्रेस नेता हुन् । गठबन्धन दलहरुको नेतृत्वमा सरकार बन्ने भएकाले माओवादीबाट जोखबहादुर महराले पनि मुख्यमन्त्री बन्ने इच्छा देखाएका छन् । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेर काम गरिसकेका छन् । तर, गठबन्धनबाट कांग्रेसकै नेतृत्ववमा सरकार बन्ने भएकाले कांग्रेसबाट नै मुख्यमन्त्री चुनिने निश्चित छ । सरकार बनाउन छलफल चलिरहेका दलबाट भने मुख्यमन्त्रीको दावी परेको छैन् ।
८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ जना सांसदको समर्थन आवश्यक हुन्छ । लुम्बिनीमा प्रदेशसभाको प्रत्यक्षतर्फको ५२ सीटमध्ये प्रदेशसभामा एमालेले १८ स्थानमा जित्दा नेपाली कांग्रेस १७ स्थानमा जित निकालेको छ । माओवादी केन्द्रले ५ सीटमा जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीे, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान २ सीट जितेका छन् । जनमत पार्टीले १ सीट जित्दा ३ जना स्वतन्त्र विजयी भएका छन् ।
नेपालको संंविधानको धारा १६८ को उपधारा १ मा प्रदेश मन्त्रिपरिषद्सम्बन्धि प्रावधान छ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संंसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । उपधारा २ मा यदि उपधारा १ बमोजिम प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलले थ्रेस होल्ड कटाएका छन् । यो सँगै अब प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र रहेकोमा आठ वटा राजनीतिक दलले मात्रै प्रत्यक्षमा चुनाव जितेका थिए । तर, समानुपातिकमा थ्रेसहोल्ड पार गरेका १० राजनीतिक दलको प्रदेशसभामा प्रतिनिधित्व हुने भएको छ ।
जसमा नेकपा एमालले ११ सीटसम्म भाग पाउने देखिएको छ भने दोस्रोमा रहेको कांग्रेसले १० सीटसम्म भाग पाउने देखिएको छ । नेकपा माओवादी केन्द्रले ५ सीट पाउनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सीट, नागरिक उन्मुक्ति पार्टीले २ सीट, जनमत पार्टीले १ सीट पाउँदा जनता समाजवादी पार्टीले पनि एक सिट नै पाउने भएको छ । यसको टुंगो आइतबारसम्ममा लाग्नेछ ।
थ्रेसहोल्ड कटाएका एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सीट पाउने भएका छन् । प्रत्यक्षतर्फ एमालेले १८, कांग्रेसले १७, माओवादीले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सीट जितेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर तीन जनाले जितेका छन् । यी तीन जनाले पनि गठबन्धनलाई समर्थन गर्ने बुझिएको छ ।
कांग्रेस र एमाले दुबैका लागि एक्लाएक्लै सरकार बनाउन असहज भएपछि दुई दल आवश्यक संख्या पुर्याउने कसरतमा लागेका छन् । तर, सरकार बनाउन कांग्रेसलाई जसत सहज एमालेलाई छैन् । सत्ता गठबन्धन कायम रहिरहेको अवस्थामा गठबन्धनको सहज सरकार बन्ने निश्चित छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनको चुनावी राणनीति केही असफल भएपनि प्रदेश सरकार बनाउन भने सहज छ ।