काठमाडौं – प्रत्यक्षमा एक सिट र समानुपातिकमा चार सिट प्राप्त गरेको सिके राउत नेतृत्वको जनमत पार्टीको सरकार गठनका बेला निकै महत्व देखिएको छ ।
सोही कारण जनमत पार्टी अध्यक्ष डा. सीके राउतसँग प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणले भेट गरी सरकारमा सहभागिताका बारेमा छलफल अगाडि बढाएका छन् ।
बिहीबार सप्तरीबाट काठमाडौं आएलगत्तै उनी भेटघाटमा निकै व्यस्त बने । पहिलोपल्ट राउतले ठूला दलबाट यति ठूलो महत्व पाएका हुन् । पार्टी गठन गरेको दुई वर्ष नपुग्दै र पहिलो निर्वाचनमै जनमत पार्टी राष्ट्रिय पार्टी बनेकाले राउतको महत्व बढेको हो । त्यसैले उनको दललाई सरकारमा सामेल गराउन प्रयास भइरहेको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको पहलमा सीके राउतलाई संघ र प्रदेश सरकारमा सामेल गराउने पहल सुरु भएको हो । मधेस प्रदेशमा जनमत पार्टीको ६ सिट छ । त्यसैले जनमत पार्टी सरकार बनाउन निर्णायक मानिएको छ । नेता निधि मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन चाहन्छन् ।
कांग्रेस नेतृत्वमा सरकार बने रामसरोज यादव मुख्यमन्त्री हुने गरी छलफल सुरु भएको छ । अघिल्लो सरकार जसपाको नेतृत्वमा बनेको थियो । मुख्यमन्त्री थिए जसपाका लालबाबु राउत । तर यसपटक मधेस प्रदेशमा सरकार बनाउने गरी जसपाले म्यान्डेट पाएको छैन ।
२०६४ यता लगातार १५ वर्ष संघ र मधेसमा उपेन्द्र यादवको पार्टी निर्णायक बनेको थियो । उसले जे चाह्यो त्यही हुन्थ्यो । तर अहिलेको निर्वाचनले मधेसमा सिके राउतको जनमत पार्टीको उदय गराएको छ ।
पहिलो निर्वाचनमै ६ सिट जितेकाले र राष्ट्रिय पार्टी बनेकाले अर्को निर्वाचनमा पनि जनमत पार्टीले राम्रै नतिजा ल्याउने संकेत देखिएको छ । त्यसमा पनि संघ सरकार गठनमा सिके राउत पनि सामेल हुने भएकाले अब उनले उपेन्द्र यादवको ठाउँ लिने देखिएको छ ।
स्रोतका अनुसार राउत सरकारमा सामेल भएमा उनले चाहेको मन्त्रालय पाउने भएका छन् । बौद्धिक छवि बनाएका राउत सरकारमा सहभागी भए पहिलोपल्ट राजकीय जिम्मेवारी प्राप्त गर्ने छन् ।