धनगढी । बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ । बाजुराबाट एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । पुनः मतदान गर्नुपरेकाले बाजुराको नतिजा आउन बाँकी छ ।
तर गणना सकिएका ठाउँमा नतिजा अनुसार, नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ । प्रतिनिधिसभा तर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ ।
प्रतिनिधिसभा तर्फ नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बराबर तीनरतीन सिट जितेका छन् । प्रदेशसभातर्फको नतिजाले भने एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति ठूलो पार्टी बनेको छ । नागरिक उन्मुक्तिले ५ प्रदेशसभा सदस्य जितेको छ ।
एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभातर्फ २ सिट मात्रै भाग पाएको थियो । त्यो दुवै सिट जितेको छ । डडेलधुराबाट एकीकृत समाजवादीका नेता डा। तारा जोशीले स्वतन्त्र जितेका छन् । भागबण्डामा नपरेपनि जोशीले जित्दा एकीकृत समाजवादीको तीन सिट भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर नागरिक उन्मुक्ति भन्दा एमाले सानो दल बनेको छ । एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभामा ३ सिट जितेको छ ।