काठमाण्डौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन्
‘भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन पटक रकम घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोेलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले महङ्गो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गरी सस्तोमा सेवा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको र व्यवसायी व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको बताएको छ । प्रदेश सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन समेत नगर्दा समस्या परेको महासंघको भनाइ छ ।














