काठमाण्डौं । संयुक्त राज्य अमेरिकाले नेपालको दिर्घकालीन आर्थिक समृद्धिको अभियानमा सहयोग गरिरहने बताएको छ ।
५० करोड डलरको अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि त्यसमा प्रतिक्रिया जनाउँदै अमेरिकाले नेपालको समृद्धिको यात्रामा समर्थन जारी रहने बताएको हो ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्दै संसदबाट सम्झौता अनुमोदन अनुमोदन गरेर नेपालले आफ्नो प्रतिबद्धता पूरा गरेको र यो निर्णयले नेपाली जनताका लागि थप रोजगारी, विद्युतको भरपर्दो आपूर्ति र कम यातायात खर्च हुने विश्वास लिएको छ ।
नेपाल सरकारले २ करोड ३० लाखभन्दा बढी नेपालीलाई सहयोग गर्ने उद्देश्यका साथ ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा स्मरण गराइएको छ । अब नेपाल सरकारले पञ्चवर्षीय कार्यक्रम कार्यान्वयनमा निरन्तर काम गर्न सक्ने अमेरिकी भनाइ छ ।
नेपाल-अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको स्मरण गर्दै अमेरिकाले भनेको छ, ‘यी ७५ वर्षमा नेपालले अतुलनीय र अतुलनीय परिवर्तनहरू देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौं । विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थप सहयोग गरेका छौं ।’
नेपालसँगको आफ्नो सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको उल्लेख गर्दै दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘हामी देश र यसको लोकतान्त्रिक मूल्यमान्यता र दीर्घकालीन आर्थिक समृद्धिमा सहयोग गरिरहनेछौँ ।’
एमसीसीले स्थापनाको २० वर्षमा आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकहरूमा लगानी र सुशासन, लोकतान्त्रिक सिद्धान्तहरू प्रवर्द्धन गर्ने र भ्रष्टाचारविरुद्ध लड्नलगायत विषयमा विकासशील देशहरूसँग साझेदारी गरी विश्वभर गरिबी निवारण गर्न मद्दत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।