काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भयो । सैद्धान्तिक छलफल र अनुमोदनमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि साक्षी रह्यो ।
तत्कालीन सरकारको प्रधानमन्त्री हुँदा २०७६ असार ३० मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नै एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गराएका थिए । आफैंले दर्ता गराएको प्रस्ताव अनुमोदन हुने अवस्थामा ओली पनि संसदमा उपस्थित भए । एमसीसी टेबल हुँदा र त्यसअगाडि संसदमा खासै उपस्थित नहुने ओली आइतबार भने संसदमा उपस्थितमात्र भएनन् एमसीसीमाथिको छलफल उभिएरै सुने ।
आफ्नो माग सम्बोधन नहुँदा भलै उनी पार्टीसँगै सदन अवरोधमा उभिरहे । तर उभिएरै भए पनि एमसीसीमाथिको पुरै छलफल सुने । एमसीसी सम्झौताको निर्णायक मोडमा साक्षी रहे ।
सत्तामा हुँदा विकास र समृद्धि, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा अघि बढेका ओलीले माओवादीका कारण आफ्नो कार्यकालमा एमसीसी पारित गर्न सकेनन् । तर अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा ढिलै भए पनि अनुमोदन हुँदा ओली खुसी थिए ।
पार्टीको लाइन र एजेण्डाका कारण संसदमा अवरोध गर्न बाध्य भए पनि एमसीसी अनुमोदन हुनुपर्छ भन्नेमा ओली दृढ थिए । अन्तत: विभिन्न अवरोधका बाबजुद एमसीसीको निर्णायक समयको साँची बनेर ओलीले देश विकासको एजेण्डा सधै आफू प्रतिबद्ध रहेको उदाहरण दिए ।
माओवादी र एकीकृत समाजवादीजस्तो दोहोरो चरित्र विकास र वैदेशिक सहायता परियोजनामा देखाउँदैनौं भन्ने सन्देश दिए । ओलीको संसदमा उपस्थितिलाई लिएर होला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनमा प्रतिपक्षी दलका नेताको पनि समर्थन रहेको बताएका थिए ।
‘प्रमुख प्रतिपक्षी दलका नेता माननीय केपी शर्मा ओलीज्यु संसदको प्रक्रियाभन्दा बाहिर भए पनि एमसीसी अनुमोदनको लागि उहाँको पनि सहमति रहेको छ। त्यही भएर उहाँ आजको संसद बैठकमा सहभागीसमेत हुनुभएको छ,’ मन्त्री शर्माले भने । ओलीको उपस्थितिमा कांग्रेस सांसदहरु पनि उत्साहित थिए । कांग्रेस सांसद अभिषेकप्रताप साहले भने, ‘अन्ततः एमालेले पनि एमसीसी पास गर्नमा सहयोग गर्यो । जय नेपाल ।’