काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्णय गरेको छ ।
बुधबार लोसपाको बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा सबै सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ ।
बैडठकपछि सांसद लक्ष्मणलाल कर्णले भने, ‘भोलि बिहीबारको संसद् बैठकमा सबै माननीयहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ, एमसीसीको बारेमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ । उहाँले गर्ने निर्णय सबैले मान्नुपर्ने हुन्छ ।’
सांसद चन्दा चौधरीले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिइन् ।
विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको सांसद चौधरीले बताइन् ।
उनले भनिन्, ‘एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने भएकाले पनि एमसीसीको पक्षमा मतदान गर्ने भन्ने निर्णय भएको हो ।’
लोसपाका १३ सांसद छन् । सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ ।