No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

म्युजिक भिडियोमा ‘रेमिट्यान्स’ लगानी बालुवामा पानी


म्युजिक भिडियोमा ‘रेमिट्यान्स’ लगानी बालुवामा पानी

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको गीत ‘रमरम मरौटी’ मा प्रिन्सेस खरेलको लगानी छ । उनी जापानमा बस्दै आएकी छिन् । गत साता सार्वजनिक ‘तिम्रो हाँसो’ बोलको गीतको भिडियोमा रानी शाक्यको लगानी छ । उनी अमेरिका बस्दै आएकी छिन् ।

गत साता नै सार्वजनिक ‘रित्तो रित्तो’ मा रोशन अधिकारीको लगानी छ । उनी अमेरिकामा बस्दै आएका छन् । सोमबार मात्रै सार्वजनिक भएको ‘होइ मेरो संसार’ बोलको गीतमा अमेरिकामा बस्दै आएका बिन्तीकुमार गुरुङको लगानी छ । अष्ट्रेलियामा बसोवास गर्दै आएका प्रकाश घिसिङले आफ्नो लगानी रहेको नयाँ म्युजिक भिडियो केही दिनमा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

विदेशमा रहेका नेपालीको लगानी रहेका पछिल्ला केही म्युजिक भिडियोका उदाहरण हुन् यी । नेपाली म्युजिक भिडियोमा कसले कसरी लगानी गरिरहेको छ भन्ने यकिन जानकारी पाउन मुश्किल छ । तर ६० देखि ७० प्रतिशतसम्म लगानी विदेशमा बस्ने नेपालीबाट भइरहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

म्युजिक भिडियो निर्देशक विधान कार्की भन्छन्, ‘नेपालमा जति म्युजिक भिडियो बन्छन्, त्यसमा ७० प्रतिशत देश बाहिर रहनुभएका नेपालीबाट लगानी भएको छ ।’ विदेशमा बसेका गीत/संगीतलाई माया गर्ने नेपालीबाट यो क्षेत्र धानिएको कार्की बताउँछन् ।

‘त्यसरी लगानी गर्नेहरूमा गीत लेख्ने, गाउने, अभिनय गर्नेहरू बढी हुनुहुन्छ’ कार्कीले अनलाइनखबरसँग भने ‘नलेख्ने, नगाउनेहरूले पनि गीतमा लगानी गरेर यो क्षेत्रलाई बचाउनुभएको छ ।’ कार्कीले निर्देशन गरेमध्ये पनि ७० प्रतिशत माथि भिडियोमा नेपाल बाहिरका नेपालीको लगानी छ ।

अर्का निर्देशक निकेश खड्का पनि म्युजिक भिडियोमा धेरैजसो लगानी विदेशबाटै हुने गरेको बताउँछन् । कुनै न कुनै रूपमा गीत–संगीतसँग नजिक रहेकाले लगानी गर्ने गरेको उनको भनाइ छ । विदेश बस्नेमध्ये पनि अमेरिका र अष्टे«ेलियामा रहेका नेपालीबाट म्युजिक भिडियोमा बढी लगानी हुने निर्देशकहरू बताउँछन् ।

म्युजिक भिडियोमा हुने लगानीमध्ये नेपालभित्रबाट चाहिं ३० प्रतिशतभन्दा कम रहेको निर्देशकहरूको भनाइ छ । नेपालभित्रबाट चाहिं गायक–गायिकाले बढी लगानी गर्छन् । उनीहरू स्टेजमा गाउनका लागि पनि नयाँ गीत चाहिने भएकाले म्युजिक भिडियोमा लगानी गर्ने गरेका छन् ।

बाहिरबाट लगानी गर्नेहरूलाई खासै प्रतिफलको आशा नहुने जानकारहरू बताउँछन् । नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की भन्छन्, ‘नेपाली जुनसुकै देशमा बसेपनि आफ्नो पहिचानको खोजीमा हुन्छन् । दुई-चार जनाले आफूलाई चिनिदिउन् भन्ने हुन्छ । म्युजिक भिडियोसँग पहिचान जोडिने भएकोले उनीहरू यसमा लगानी गर्छन् ।’

कार्कीका भनाइमा, कतिपय संगीतमा रुचि भएकाहरू नेपालमा हुँदा आर्थिक अभावले गीत रेकर्ड गराउन, भिडियो बनाउन सकिरहेका हुँदैनन् । बाहिर गएर कमाएपछि आफ्नो पुरानो इच्छा पूरा गर्न पनि यसमा लगानी गर्न रुचि देखाउँछन् ।’

रहर, पहिचान र योगदान

१३ वर्षदेखि अमेरिकामा बस्दै आएका रोशन अधिकारीले पछिल्लो तीन वर्षमा केही म्युजिक भिडियोमा लगानी गरेका छन् । उनी आफ्ना गीतमा स्वर दिने र अभिनय समेत गर्दै आएका छन् । आफूमा सानैदेखि गाउने रहर रहेको तर नेपालमा त्यो माहोल नमिलेको अधिकारीको भनाइ छ ।
अमेरिका पुगेको एक दशकपछि मात्रै उनले लगानी गरेर गीत ल्याए । अधिकारी भन्छन्, ‘नेपालमा हुँदा रहर भए पनि माहोल थिएन । अहिले परिवारको सपोर्ट पनि अनि नेपाली सांगीतिक क्षेत्रमा केही भए पनि योगदान दिन सकिन्छ भने किन नगर्ने भनेर लगानी गरेको हुँ ।’

उनले पहिलो पटक ‘झ्यालको पर्दा’बोलको गीतमा लगानी गरेका थिए । त्यसमा उनको स्वर र अभिनय दुवै छ । त्यसयता उनले चार वटा म्युजिक भिडियोमा लगानी गरिसकेका छन् । आफूले लगानी गरेका म्युजिक भिडियोमा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म खर्च गरेको बताउँदै उनले लगानी फिर्ताको आशा नराख्ने बताए । अमेरिकामा रहे पनि ५–६ महीनाको अन्तरमा नयाँ गीतहरू ल्याउने र सांगीतिक क्षेत्रलाई निरन्तरता दिने आफ्नो सोच रहेको उनी बताउँछन् ।

८ वर्षदेखि अष्टे«लियामा बस्दै आएका प्रकाश घिसिङ आफू गीत गाउँदैनन्, म्युजिक भिडियोमा अभिनय गर्दैनन् । तर, म्युजिक भिडियोमा लगानी भने गर्दै आएका छन् । उनले केही वर्षयता यसमा लगानी गर्न थालेका हुन् । एक वर्ष अगाडि ‘त्यस्तै त्यस्तैमा’ मा लगानी गरेका थिए उनले । उनको लगानी रहेका केही म्युजिक भिडियोहरू सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।

विदेशमा रहेर नेपाली म्युजिक भिडियोमा लगानी गर्नुको उद्देश्यबारे उनले अनलाइनखबरसँग भने, ‘आफूलाई केही नाफा होस् भन्दा पनि आफ्नो देशको सांगीतिक क्षेत्रमा केही योगदान होस्, प्रतिभावान नयाँ गायक–गायिका, मोडलहरूलाई अगाडि बढ्न सहयोग होस् भनेर लगानी गरेको हो ।’ केही वर्षमा नेपाली चलचित्र समेत निर्माण गर्ने सोच उनीसँग छ ।

१२ वर्षदेखि अमेरिका बस्दै आएका सतिश अधिकारीले थुप्रै नेपाली गीतको म्युजिक भिडियोमा लगानी गरेका छन् । ‘फूली नाकैमा’, ‘कहाँ गयौ भँगेरी चरी’ लगायत म्युजिक भिडियोमा लगानी गरेका उनी आफूले गीत गुनगुनाउने गरे पनि आफ्नो स्वरमा रेकर्ड नगराएको बताउँछन् । आफूलाई गीत सिर्जना गर्दा भने विशेष सन्तुष्टि मिल्ने उनको भनाइ छ ।

नेपालमा हुँदा आर्थिक अभाव र पढाइमा व्यस्त भएका कारण गीत–संगीतको क्षेत्रमा समय दिन नसके पनि विदेशमा गएपछि यसको संरक्षण र सम्वद्र्धनको क्षेत्रमा केही योगदान होस् भनेर आफूले कमाएको केही पैसा लगानी गर्ने गरेको उनको भनाइ छ ।

‘म लमजुङमा गीत–संगीतको माहोलमै हुर्किएँ । नेपालमा हुँदा विविध कुराले सांगीतिक क्षेत्रमा त्यति समय दिन सकिएन । अहिले आफूले कमाएको मध्ये केही रकम आफ्नो देशको गीत–संगीतमा लगानी गरेको छु’ अधिकारी भन्छन्, ‘मैले लगानी फिर्ता हुन्छ भनेर म्युजिक भिडियोमा पैसा हालेको हैन । विदेशमा बसेर पनि आफ्नो कला–संस्कृति जोगाउनुपर्छ भन्ने र सांगीतिक क्षेत्रप्रतिको मायाले लगानी गरेको हुँ ।’

नेपालभित्रबाट कसरी हुन्छ लगानी ?

म्युजिक भिडियोमा हुने लगानीमध्ये नेपालभित्रबाट चाहिं ३० प्रतिशतभन्दा कम रहेको निर्देशकहरूको भनाइ छ । नेपालभित्रबाट चाहिं गायक–गायिकाले बढी लगानी गर्छन् । उनीहरू स्टेजमा गाउनका लागि पनि नयाँ गीत चाहिने भएकाले म्युजिक भिडियोमा लगानी गर्ने गरेका छन् ।

यद्यपि, कोरोनाका कारण स्टेज कार्यक्रम सुस्ताउँदा अहिले गायक–गायिकाले म्युजिक भिडियोमा कमै लगानी गर्ने गरेका छन् । गायक हेमन्त शर्माले स्टेज कार्यक्रम पनि नभएको र भिडियोका लागि लगानी महँगो लाग्ने हुँदा पछिल्लो समय म्युजिक भिडियोमा लगानी नगरेको बताए ।

‘म्युजिक भिडियोको लगानी महँगो भयो । त्यसमाथि अहिले लगानी गरेर गीत ल्याउँदा गीत चले पनि के गर्ने ? स्टेज कार्यक्रम त्यति छैन’, हेमन्त भन्छन् ।

गायिका भूमिका गिरीले पछिल्लो समय आफ्नो लगानीमा तीज गीत ल्याएकी थिइन् । त्यसयता उनले म्युजिक भिडियोमा लगानी गरेकी छैनन् । ‘अहिले धेरै गायक–गायिकाको आफ्नै युट्युब च्यानल छ । शोका कारण व्यावसायिक गायक–गायिकाले कन्टेन्टका लागि पनि भिडियो ल्याउनुपर्ने हुन्छ’ उनी भन्छिन्, ‘भिडियोको लगानी कभर गर्ने स्टेजले हो । तर, अहिले स्टेज नहुँदा गीतमा लगानी गर्न एकदमै गाह्रो छ ।’

गीतकार, गायक, संगीतकार, मोडल, म्युजिक कम्पनीहरूले पनि यसमा लगानी गर्छन् । तर उनीहरू आफूहरूले लगानी गरेको म्युजिक भिडियोहरू आफ्नै युट्युब च्यानलमा राख्छन् । नेपालभित्रबाट हुने लगानीमा नव–प्रवेशी कलाकारहरूको लगानी बढी हुने निर्देशकहरू बताउँछन् ।

कोही नव–कलाकार नामका लागि, कोही रहरका लागि, कोही आफ्नै लगानीबाट स्थापित हुने र पछि आफूमाथि लगानी हुने आशामा म्युजिक भिडियोमा लगानी गर्ने गरेको निर्देशक काजिश श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘नव–प्रवेशीहरू चर्चाको आशमा म्युजिक भिडियोमा लगानी गरिरहेका हुन्छन् ।’

आफ्नो प्रेमी वा प्रेमिकाको रहर पूरा गरिदिन पनि म्युजिक भिडियोमा लगानी गरिदिनेहरू पनि छन् । उनीहरू म्युजिक भिडियोमा आफ्नो नाम भने देखाउन चाहँदैनन् । यसरी पनि म्युजिक भिडियो निर्माण हुने निर्माता रघुनाथ सापकोटा बताउँछन् । सञ्चारकर्मी समेत रहेका सापकोटाले भने, ‘त्यस्तोमा विदेशमा रहेकासँगै स्वदेशकै उद्योगी व्यवसायी र अन्य पेशामा आवद्ध व्यक्तिहरू समेत हुन्छन् ।’

निर्देशकहरूका अनुसार एउटा म्युजिक भिडिओ बनाउन न्यूनतम लगानी ३ लाख रुपैयाँ लाग्छ । चलेका कलाकार राख्दा ४ लाख रुपैयाँ भन्दा माथि लगानी हुन्छ । कतिपयले ५ देखि १० लाख रुपैयाँसम्म लगानी गरेर पनि म्युजिक भिडियो निर्माण गर्ने गरेका छन् । यसरी हेर्दा वर्षमा १ अर्ब रुपैयाँ माथि म्युजिक भिडियोमा लगानी हुन्छ । तर, यीमध्ये १० प्रतिशतले पनि लगानी उठाउँदैनन् । नाफा कमाउनु त परको कुरा ।

‘म्युजिक भिडियोमा दुई वर्षमा एक करोड सकें’

म्युजिक भिडियो कसरी पनि बन्छन् भन्ने एउटा उदाहरण छ । एक गायिकाले डेढ वर्ष अगाडि चलेका एक पुरुष र दुई महिला मोडललाई लिएर म्युजिक भिडियो बनाइन् । सो गीत उनले एक जना चलेका गायकसँग गाएकी छिन् । उक्त म्युजिक भिडियोमा उनले ८ लाख रुपैयाँ खर्च गरेकी थिइन् । त्यसयता उनले ९ वटा म्युजिक भिडियोमा लगानी गरिसकिन् । म्युजिक भिडियो निर्माण गरेर मात्र भएन केही खर्च गरेर ती म्युजिक भिडियोहरूको प्रमोशन गरेकी थिइन् ।

‘अहिलेसम्म एक करोड बढी खर्च गरें’ उनी भन्छिन्, ‘तर आम्दानी दुई लाख पनि भएको छैन ।’ उनी यतिबेला पनि नयाँ गीतको तयारीमा छिन् । आम्दानी नहुँदा पनि उनले किन लगानी गरेर म्युजिक भिडियो ल्याइरहेकी छिन् ? उनको जवाफ छ ‘मेरा गीतहरू श्रोता÷दर्शकले सुनून् । सांगीतिक बजारमा मेरो नामको चर्चा होस् ।’

त्यस्तै एक जना पुरुषलाई सानैदेखि अभिनयमा रुचि थियो । तर, उनले अभिनयको सहज अवसर पाएनन् । आफैंले लगानी गरेर म्युजिक भिडियोमा अभिनय गर्ने त्यसपछि अरूमा काम गर्न पाइने सपना देखे । र, एक चलेका निर्देशककहाँ पुगे ।

चलेकी गायिका, त्यसअघि केही गीतमा स्वर दिएका गायकको स्वर रहने, चलेकी मोडलसँग ती पुरुषले अभिनय गर्ने फाइनल भयो । त्यसका लागि ५ लाख रुपैयाँ लाग्ने निर्देशकले बताए । ती पुरुषले म्युजिक भिडियोमा लगानी गरे ।

लगानी गर्नुको कारणबारे उनले भने, ‘कहींबाट अभिनयको अवसर नपाएपछि आफैं लगानी गरें ।’ उनले पछि मात्रै महसूस गरे, आफू लगानीमा केही ठगिएको रहेछु । उनलाई लागेको थियो शुरुआतमा आफूले लगानी गरेर भिडियो खेले पनि त्यसपछि अरूको भिडियोमा अभिनय गर्न पाइएला ।

‘तर त्यसपछि काम गरेको छैन । अहिले पनि केही व्यक्तिसँग भिडियोमा अभिनयका बारे कुरा त हुन्छ तर सबैले लगानी गरेर अभिनय गर्नुस् भन्नुहुन्छ । अब त के लगानी गरेर खेल्नु र ?’ उनले भने ।

नव गायक–गायिकाले पनि यसैगरी लगानी गरिरहेको एक चलेका लोकदोहोरी गायक बताउँछन् । उनी भन्छन्, ‘मकहाँ गायिका आउनुहुन्छ । कहिलेकाहीं गायिकाले लगानीकर्ता पनि खोजेर ल्याउनुहुन्छ ।’

उनी भन्छन्, ‘उहाँहरूसँगको बसाइपछि गीत र भिडियो निर्माणबारे छलफल हुन्छ । म गीत बनाउँछु । मेरो र नयाँ गायिकाको स्वर हुन्छ । रेकर्डिङदेखि भिडियो निर्माणसम्म ती गायिकाले खर्च गर्नुहुन्छ ।’ लोकदोहोरी गायक खुमन अधिकारी पनि सांगीतिक क्षेत्रमा प्रवेश गर्ने रहर भएका मोडलहरूले म्युजिक भिडियोमा लगानी गर्ने गरेको बताउँछन् ।

वर्षमा ३६ सय म्युजिक भिडियो, १० प्रतिशतले पनि उठाउँदैनन् लगानी

म्युजिक भिडियो निर्देशक समाजको आकलन अनुसार दिनमा १० वटा म्युजिक भिडियो सार्वजनिक हुन्छन् । महीनामा औसत ३००, वर्षमा ३६०० बढी यस्ता भिडियो सार्वजनिक भइरहेका हुन्छन् ।

निर्देशकहरूका अनुसार एउटा म्युजिक भिडिओ बनाउन न्यूनतम लगानी ३ लाख रुपैयाँ लाग्छ । चलेका कलाकार राख्दा ४ लाख रुपैयाँ भन्दा माथि लगानी हुन्छ । कतिपयले ५ देखि १० लाख रुपैयाँसम्म लगानी गरेर पनि म्युजिक भिडियो निर्माण गर्ने गरेका छन् । यसरी हेर्दा वर्षमा १ अर्ब रुपैयाँ माथि म्युजिक भिडियोमा लगानी हुन्छ । तर, यीमध्ये १० प्रतिशतले पनि लगानी उठाउँदैनन् । नाफा कमाउनु त परको कुरा ।

अन्य विभिन्न प्लेटफर्मको कुरा गरे पनि म्युजिक भिडियोको आम्दानी युट्युबमा निर्भर छ । तर, युट्युबमा सार्वजनिक भएका मध्ये ९० प्रतिशत भिडियोले लगानी नै उठाउँदैनन् । निर्देशकहरूकै अनुसार म्युजिक भिडियोमा गरिएको लगानी ‘बालुवामा पानी’ सरह छ । ‘लगानी उठाउन गाह्रो छ’, निर्देशक विधान कार्की भन्छन् ।

निर्देशक शिव विकका बुझाइमा पनि म्युजिक भिडियोमा गरिएको लगानीमध्ये १० प्रतिशतले पनि लगानी उठाउँदैनन् । ‘लगानी उठाउने भिडियोहरू विरलै हुन्छन् । कि सालको पात जस्तो हुनुपर्‍यो, गलबन्दी टाइपको गीत हुनुपर्‍यो’ शिवले अनलाइनखबरसँग भने, ‘लगानी उठाउन कति भ्यूज पाउनुपर्छ त्यो ठ्याक्कै भन्न सक्ने अवस्था रहँदैन ।’

कति लगानी गरिएको छ ? भिडियो कति समयको छ ? भिडियोले कति भ्यूज पायो ? दर्शकले आफ्नो भिडियो कति मिनेट हेरे ? कुन देशबाट बढी हेरियो जस्ता कुरामा भर पर्ने लगानीकर्ता बताउँछन् ।

गज्जब टिभी मार्फत म्युजिक भिडियो सार्वजनिक गर्दै आएका गायक तथा निर्देशक सरोज वली म्युजिक भिडियोहरू एक करोड बढी हेरिंदा पनि त्यसबाट आउने आम्दानीमा फरक हुने बताउँछन् । उनले दुई गीतको आम्दानीबारे उदाहरण दिंदै भने, ‘ठ्याक्कै भन्न सकिंदैन । मायालु तिमी कता छौ’ गीत १ करोड १२ लाखले हेर्दा ३ लाख रुपैयाँ आम्दानी भएको छ । ‘माया गरौंला’ भन्ने गीत १ करोड ७० लाखले हेर्दा १० लाख रुपैयाँ आएको छ ।’

गुणस्तरमा कमजोर

धेरै म्युजिक भिडियोको गुणस्तर एकदमै कमजोर हुने गर्छ । जानकारहरूका भनाइमा गीत र भिडियोको स्तर दिनानुदिन खस्किंदो छ । गीतकार प्रा.डा. कृष्णहरि बराल म्युजिक भिडियो रुचाउन गीत र भिडियोको तालमेल मिल्नु आवश्यक रहेको बताउँछन् ।

उनका कतिपय गीतलाई भिडियोले उठाएका पनि छन् । कतिपय गीत भने भिडियोकै कारण नचलेका पनि छन् । अहिलेका गीत कस्ता छन् भनेर समीक्षा गर्नुभन्दा पनि गीत र भिडियोको तालमेल मिलाउने कुरामा ध्यान दिनुपर्ने बराल बताउँछन् । कति गीतमा शब्दको अर्थ नबुझेर भिडियो मनपरी खिचेको अनुभव पनि उनीसँग छ ।

उनले एउटा गीतको उदाहरण दिए । चलचित्रका लागि उनले लेखेको एउटा गीत थियो–

कहिलेदेखि लौन ममा चढ्यो लालिमा
नाचौं नाचौं लाग्छ फूलको डाली डालीमा

बरालका अनुसार, ‘यसको भिडियोमा कहीं फूल थिएन । भिडियो बगरमा खिचेर सिध्याइदिएका थिए ।’ गीतको स्तर, त्यसको साहित्य, त्यसको संगीतको स्तर, गायनको स्तर लगायत कुरालाई मिलाएर भिडियो निर्माण गर्नुपर्ने उनी बताउँछन् ।

‘सबैभन्दा ठूलो कुरा हामीले गीत हेर्दा पनि राम्रो लागोस्, सुन्दा पनि आनन्द आओस्’ उनले भने, ‘सबै कुराको तालमेल मिलाएर काम गर्ने हो भने म्युजिक भिडियोले लगानी उठाउँछन् ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी म्युजिक भिडियो नरुचाइनु वा लगानी उठाउन नसक्नुमा विभिन्न कारण देख्छन् । मुख्य त म्युजिक भिडियो स्तरीय नबन्दा धेरै गीत नरुचाइएको उनको बुझाइ छ ।

अरूको लगानीमा भिडियो बनाउनेहरूको जमात ठूलो रहेको बीजीको भनाइ छ । जसले भिडियो स्तरीय बनाउन त्यति मिहिनेत नगरेको उनको बुझाइ छ । उनी सांगीतिक क्षेत्र एउटा ‘लत’ को क्षेत्र भएको बताउँछन् ।

‘भिडियो आइसकेपछि खर्चको चिन्ताभन्दा आत्मरतिमा रमाउनेहरू बढी हुनुहुन्छ’ उनी टिप्पणी गर्छन्, ‘त्यो भिडियो आफन्तले देखे, दुई चारवटा टिकटक बने भने पनि उहाँहरूलाई खुशी मिल्छ ।’

यस्तो रहर गर्नेहरूको लगानीले पनि म्युजिक भिडियो धेरै बनेको र त्यसको गुणस्तर कम भएको बीजीको बुझाइ छ । उनका अनुसार कलाकार र निर्देशक बन्ने होडले पनि स्तरीय म्युजिक भिडियो बन्न सकिरहेका छैनन् ।

एक जनाको लगानी, दर्जनौंलाई रोजगारी

तर म्युजिक भिडियोको सकारात्मक पक्ष जो–कोही एक जनाले लगानी गर्दा दर्जनौंलाई रोजगारी मिलेको छ । चाहे त्यो विदेशबाट गरिएको लगानी होस् वा स्वदेशबाट । व्यावसायिक गायक–गायिका, स्टुडियो, वाद्यवादक, प्राविधिक, निर्देशकदेखि मोडलसम्मले राम्रो आम्दानी गरिरहेका छन् ।

‘एक जनाको लगानीले गर्दा कलाकारदेखि कोरस, प्राविधिक, निर्देशकसम्मले रोजगारी पाएका छन् । म्युजिक भिडियो क्षेत्र चलायमान बनेको छ’ निर्देशक समाजका अध्यक्ष विधान भन्छन्, ‘यसलाई सकारात्मक रूपमै लिनुपर्छ ।’

उनी सांगीतिक क्षेत्र सोखको क्षेत्र पनि भएकाले धेरैले आत्मसन्तुष्टिका लागि लगानी गर्ने गरेको बताउँछन् । ‘म आफू इञ्जिनियरिङको विद्यार्थी । मैले इञ्जिनियरिङ किन गरिनँ ?’ कार्की भन्छन्, ‘मैले त्यहाँबाट बढी कमाउँथें होला तर मलाई म्युजिक भिडियो निर्देशनमा सन्तुष्टि मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

Next Post
एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित

एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित

कारागारमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख लिएपछि…

कारागारमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख लिएपछि…

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .