काठमाडौं । सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौता घोषणा भएसँगै चिसिएको सम्बन्ध सुधारका लागि फ्रान्स र अमेरिकाले प्रयास थालेका छन् अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गएको हप्ता भएको सुरक्षा सहकार्यसम्बन्धी ओकस सम्झौताका कारण फ्रान्स चिढिएको थियो । आक्रोशमा आएको फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। यस्तै फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी थिइन् ।
ओकसअन्तर्गत अमेरिका र बेलायतले परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि अस्ट्रेलियालाई सहयोग गर्नेछन् । फ्रान्सले आफूसँग ठेक्का सम्झौता भएको अवस्थामा ढाँटेर सुरक्षा सम्झौता गरिएको बताउँदै आएको छ । ओकस सम्झौतासँगै अस्ट्रेलियासँग भएको फ्रान्सको ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का अन्त्य भएको छ । अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो ।
रुष्ट भएको फ्रान्ससँगको सम्बन्ध सुधारको प्रयासस्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले संवाद थालेका हुन् । बाइडेन र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच बुधबार आधा घण्टा टेलिफोन संवाद भएको हो । संवादपछि दुई नेताले संयुक्त वक्तव्य जारी गरे समस्या समाधान गरी सहकार्य बढाउन प्रयास गरिने उल्लेख गरेका छन् ।
दुई नेताबीच आउँदो महिना युरोपमा भेटवार्तासमेत हुनेछ । टेलिफोन संवादको क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले हिन्द–प्रशान्त क्षेत्रका लागि फ्रान्स तथा युरोपियन युनियनको संलग्नता महत्वपूर्ण रहेको बताए । संयुक्त वक्तव्यमा युरोपको बलियो सुरक्षाका लागि सहकार्यमा जोड दिइएको छ ।
दुई नेताबीचको वार्तासँगै फिर्ता बोलाइएका फ्रान्सेली राजदूत वासिङ्टन फिर्ता हुने भएका छन् । तर फिर्ता बोलाइएका अस्ट्रेलियाका लागि फ्रान्सेली राजदूतबारे पनि स्पष्ट भएको छैन ।चीनसँग सामना गर्नका लागि अमेरिका, बेलायत र अस्ट्रेलियाले गत हप्ता विशेष सुरक्षा सम्झौता ओकसको घोषणा गरेका हुन् । विकसित सुरक्षा प्रविधि एकअर्कामा साझा गर्नका लागि तीन देशले सम्झौता गरेको जनाएका थिए ।
चीनको बढ्दो शक्ति तथा हिन्द–प्रशान्त क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित छन् र सोही चिन्ताको परिणामस्वरुप सहकार्य सम्झौता भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्य जारी गरेर नयाँ सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकस घोषणा गरेका थिए ।