काठमाडौं । चिनियाँ कम्पनी जेडटिई कर्पोरेसनको कमसल उपकरणले नेपाल टेलिकमको सेवामा अवरोध भए पनि कम्पनीलाई कारवाही गर्न भने बाधा देखिएको छ ।
आफ्नो सेवामा बारम्बार अवरोध र समस्या देखिन थालेपछि टेलिकमले सिसिओ प्रतिभा वैद्यको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनमा जेडटिई कर्पोरेसनको थर्डक्लास उपकरण नै प्रमुख कारण देखिएको छ । कमसल उपकरणको प्रयोगले नै टेलिकमको सेवाको गुणस्तर खस्किएको रिपोर्टको निष्कर्ष छ । तर उक्त कम्पनीलाई कारवाहीदेखि सम्झौता रद्ध सम्मको काम गर्न भने टेलिकम पछि हटेको छ । यसमा सार्वजनिक खरीद ऐनले बाधा पारेको छ ।
टेलिकमका विज्ञहरुका अनुसार चिनियाँ कम्पनी जेडटिईको सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट पनि राम्रो छैन । जेडटिईले नै टेलिकमको एचएलआर सिस्टम जडान गरेको हो । जेडटिई नेपाल टेलिकममा उपकरण बिक्री गर्ने सबैभन्दा ठूलो भेन्डर हो । वर्षौंदेखि अरबौको कारोवार गर्दै आइरहेको छ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जेडटिईले जडान गरेको उपकरणमा समस्या देखिएर सेवा अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार गत असार ९ गते एचएलआर सिस्टममा आएको समस्याका कारण करिब सवा दुई घण्टा सेवा अवरुद्ध भएपछि छानविन समिति बनेको थियो । अध्ययनमा हालसम्म ८ पटक टेलिकमको सेवा चिनियाँ कमसल उपकरणका कारण अवरुद्ध भएको पाइएको छ । एक महिना बितिसक्दा पनि प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
टेलिकमका एक उच्च अधिकारीले २ अर्ब तिरेर चिनियाँ कम्पनीबाट सिस्टम भित्र्याउँदा उल्टै सेवा अवरुद्ध भएर सेवाग्राहीबाट उठ्ने लाखौ पैसा घाटा भएको जानकारी दिए ।
टेलिकमको पछिल्लो समस्या उनकै शब्दमा:
असार ९ गते तीन घण्टा टेलिकमको सेवा अवरुद्ध भएको थियो । छानविन गर्न कमिटी बनेको थियो । कमिटीले जिएसएम फोरजी सिस्टमको कोडमा समस्या आएको देखाएको छ ।
एउटा कमिटी आन्तरिक प्राविधिकहरुको थियो । इन्जिनियरहरुमात्रै इन्भल्व छन् । प्रमुख प्राविधिक अधिकृत मटुकानन्द वैद्यको नेतृत्वमा थियो ।
एउटा सञ्चालक समितिले निर्देशक प्रतिभा वैद्यको नेतृत्वमा कमिटी गठन गरेको छ । यसमा मन्त्रालयसहित छ ।
एउटा कमिटी नेपाल दुरसञ्चार प्राधिकरणबाट पनि गठन भएको थियो ।
तीन वटै कमिटीको रिपोर्ट आइसकेको छ । रिपोर्टमा एचएलआर सिस्टम अवरुद्ध भएको देखिएको छ । अवरुद्ध हुँदा ३०/३५ लाख रुपैयाँ घाटा भएको छ । मोबाइल सेवा निर्देशनालयका अनुसार त्यति बराबरको कल अवरुद्ध भयो । एचएलआरमा समस्या आए सम्पूर्ण सिस्टममा समस्या हुन्छ । त्यहीँ भएर सुरुमै आशंका गरेर एचएलआरमा छानविन गर्दा समस्या पाइयो । समस्या देखिँदा पनि फेरि ल्याइयो ।
सन् २०१६ देखि हालको असारसम्म हेर्दा ८ पटक सेवा अवरुद्ध भएको छ । सबै पटक एचएलआरकै समस्या होइन । कहिले काहीँ बिलिङमा पनि समस्या आएको छ । केही समय यसले पनि अवरुद्ध हुनसक्छ । राउटरको समस्या पनि कारक रहेको छ । त्यसैले हामीले पटक पटक कमिटीहरु बनाउने गरेको छ । छानविन गरेर समस्या पहिचान गर्ने गरेका छौं । सबैपटक एचएलआरमा समस्या आएको होइन । नयाँ कोड आएपछि यो पहिलोपटक समस्या देखियो । यसअघि एचएलआरमा समस्या देखिएको थिएन । कुनै अवस्थामा ट्रान्समिसन फेलर भएको अवस्था छ । कुनै अवस्थामा एसीको कारणले र बिलिङ सिस्टमको कारणले समस्या आएको छ ।
त्यसकारण एचएलआरमा पहिलोपटक समस्या हो । यसअघि कहिले पनि समस्या देखिएको अवस्था छैन । अहिले समस्या आएको एचएलआर चिनियाँ कम्पनी जेडटिई कर्पोरेसनसँग खरीद गरिएको हो । सायद यो चिनियाँहरुको योजनाबद्ध गतिविधि हो । सिस्टम अपग्रेड वा अपडेट जे पनि हुनसक्छ । इआईएल सिस्टम अपग्रेड गर्दा पनि समस्या देखियो ।
जेडटिई कर्पोरेसनको हामीले धेरै पछि चलाएका हौं । यसअघि हवाई कम्पनीको सिस्टम चलाउँदा खासै समस्या देखिएको थिएन । एचएलआरमा अहिले आएर समस्या देखियो । प्राविधिक रिपोर्ट अनुसार सिस्टममा मोडिफिकेशन रातीको ११ बजेर ५० मिनेटमा गरेको छ । ४ बजेर ४२ मिनेट फेरि एकपटक गरिएको छ । भोलिपल्ट विहान सबै साइटहरु वर्किङ एक्टिभ देखायो । साढे ४ बजे माइनर अर्लाम देखियो । जिएसएम सर्भिसमा केही अर्लामहरु देखियो । ४ बजेर ५० मिनेटमा विहान लोड एक्कासी अस्वभाविक हिसाबले बढ्यो । ५ बजेर ५२ मिनेटमा क्रिटिकल अर्लाम आयो । कलहरु रिजेक्ट गर्न थाल्यो । सिस्टमले कल ह्याण्डिल गर्न छोड्यो ओभरलोड भयो । ७ बजेर ४ मिनेटमा अघिल्लो दिनदेखि गरेका सबै गतिविधि रद्ध गरेर पुरानै अवस्थामा फर्काएपछि कन्डिसन नर्मल भयो । यो समय ८ बजेर १५ मिनेट थियो । रिपोर्टले यहीँ भन्छ ।
जेडटिई कर्पोरेसनबाट आएको सामानको ७० प्रतिशत भुक्तानी भइसकेको छ । जेडटिई कोर/कोड सिस्टमको मात्रै न्यूनतम २ अर्ब मूल्य पर्छ । सबै सामान चलेपछि सिस्टम चलेपछि भुक्तानी गर्ने हो । फोरजी सेवा प्रारम्भ भएपछि ७० प्रतिशत बुझाइसकेको छ । ३० प्रतिशत अर्थात ६० करोड भुक्तानी गर्न बाँकी छ ।
अहिले जेडटिई कर्पोरेसनको वारेन्टी सुरु भइसकेको थिएन । प्रोविजनल टेस्ट गरियो । ८० प्रतिशत जति पुग्यो । बाँकी २० प्रतिशत पनि स्टेबल भयो भने अनि वारेन्टी सुरु हुन्छ भन्ने हाम्रो क्लज हुन्छ । तर तीन महिना नपुगेर यसमा समस्या देखियो । समस्या देखिएपछि हाम्रो समझौताले जुन दिन समस्या देखियो त्यहाँबाट फेरि तीन महिला टेस्ट गर्ने भन्छ । तीन महिना फेरि पछाडि सर्यो । पछि खर्च पेनाल्टीको कुरा पनि आउला ।
यसको वारेन्टी न्यूनतम ७ वर्ष हुन्छ । यसअघि हुवावेको सिस्टम १० वर्ष चलेको थियो । हुवावेमा पनि विभिन्न खाले समस्या त देखिएङ्का थिए । ८ पटक डाउन भएको छ । जेडटिई सिस्टम आएको २ वर्ष पनि भइसकेको छैन ।
जेडटिईसँग हाम्रो धेरै सामानको कन्ट्याक्ट छ । फरक फरक चिजहरु दिएको छ । तर सबै सामान ठिक छैन । मगाएअनुसारको सामान आएन । कहिले विलिङ, जेडटिई राउडर लगायत समस्या पनि देखियो ।
जेडटिईको सामानमा खराबी आयो भन्दैमा किन्दिन भन्न पाइन्न । सार्वजनिक खरीद ऐनले त्यसो भन्दैन । अघिल्लो पटक समस्या आयो भनेर फेरि किन्दिन भन्न मिल्दैन । जेटिई फेरि प्रतिस्पर्धा आयो कम कबोलमा भने उसकै किन्नुपर्छ । गुणस्तरीय सामान किन्ने अधिकार हामीसँग छैन । सार्वजनिक खरीद ऐनअनुसार जानुपर्छ । जसले प्रतिस्पर्धा गर्न सकिरहेका छैनौ अरु नेटवर्कको सर्भिससँग । हामीले यो कम्पनी खराब हो भन्ने थाहा पाउँदा पाउँदै पनि रोक्न समस्या छ । स्मार्ट र एनसेलसँग प्रतिस्पर्धामा जान खरीद ऐन लगायत कुराले बाधा गरेको छ । इन्जिनियरलाई नराम्रो लागे पनि लिन्न भन्ने अधिकार छैन । यसमा त मन्त्रिपरिषदले नै रोक्न परयो । मलाई यो यो चिज चाहियो भन्नुपरयो टेण्डरमा । त्यो त्यो दिन्छु सस्तोमा जसले भन्छ मैले आँखा चिम्लेर किन्नुपरयो ।
यस्ता समस्याका बाबजुद टेलिकमले छुट्टै रणनीति बनाएको छैन । सेवाग्राही पनि मर्कामा परेका छन् । यद्यपि विभिन्न अफरहरु दिएकै छ सेवाग्राहीलाई । तर यी सबै कुरा हाम्रो हातमा छैन ।नेपालपाना