संजय यादव, सिरहा
२९ बैसाख २०७८
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण योजना तथा भएको खर्चको विवरण जेठ ५ गते भित्र अध्यावधिक गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले सबैै स्थानीय तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई निर्देशन दिएको छ । डीसीसीएमसीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य कार्यालय सिरहा, सिरहा अस्पताल, लहान अस्पताल तथा सबै स्थानीय तह (नपा÷गापा), रेडक्रस, अन्य सामाजिक संस्था लगायतका निकायमा कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, प्रदेश सरकार वा अन्य निकायबाट प्राप्त वा आफ्नै वित्तीय स्रोत आम्दानी खर्च र मौज्दात रकम २०७८ जेठ ५ गते भित्र अध्यावधिक गर्ने निर्णय गरेको छ । डीसीसीएमसीद्वारा जारी सूचनामा गत आब र चालु आबको वैशाखसम्म आम्दानी खर्च र मौज्दात विवरण जेठ ५ गते भित्र जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाउन भनिएको छ । गत आवमा पनि सिडियो कणेलले खर्च र आम्दानीकोे विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।