No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओली सरकारका तीन वर्ष : १०० मा ३० अंक


ओली सरकारका तीन वर्ष : १०० मा ३० अंक

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा तथ्यांकलाई जोड दिइएको छ । यो हेर्दा सरकारले आर्थिक विषयलाई जोड दिएको छ भन्ने देखिन्छ । विकास, रोजगारी, लगानीलाई जोड दिएको देखिन्छ । प्रधानमन्त्रीको धेरैले आलोचना गर्ने गरेका छन् । उनले मलाई चुनौति दिने हो भने विकास वा आर्थिक पक्षमा देउ भन्ने पनि यसको सन्देश हो ।

जुनसुकै प्रधानमन्त्री सफल भयो कि भएन भन्ने कुरा उनका पालामा भएका विकास, आर्थिक उपलब्धीलाई नजरअन्दाज गरेर हेर्न मिल्दैन ।

विकास विधेयक, सार्वजनिक खरिद ऐनसम्बन्धी विधेयक ल्याउन खोजेको थिएँ, तर त्यो काम गर्नका लागि मलाई अवरोध थियो भन्नुभएको छ । त्यसको यथार्थ के हो, बाहिर आउन जरुरी छ ।

विकास ऐनसम्बन्धी विधेयकको धेरै चर्चा भएको थिएन । तर, सार्वजनिक खरिद ऐन विधेयकमा सरकारकै कमजोरी छ । त्यसलाई वर्षमा चार–पाँच पटक संशोधन गरिएको छ । यसमा बच्चाको जस्तै व्यवहार देखियो ।

वित्तीय संघीयताको हकमा मैले थिति बसालेँ भन्नुभएको छ । यो सरकार सुरु हुनेबेलामा वित्तीय संघीयता कसरी जाला, बजेट कसरी तयार होला ? भन्ने अलमल थियो । धेरै प्रदेश सरकारमा कर्मचारी पुगेका थिएनन् ।

ओलीजी सफल कि असफल भनेर ठ्याक्कै भन्न गाह्रो छ । स्थानीय सरकारले विकास खर्च गर्न नसकेको गुनासा आइरहेका छन् । स्थानीय सरकारको असफलतामा कति प्रतिशत जिम्मेवारी संघीय सरकारको हो हो त ? बजेट छ, तर स्थानीय सरकारले सडक बनाउन सकेन भने त्यो संघीय सरकारको दोष हो कि होइन ? उनीहरूलाई थर्काउने जिम्मेवारी प्रधानमन्त्रीको होइन भन्यौं । संघ, प्रदेश र स्थानीय गरी ७६१ वटा सरकार समान छ भन्यौं । प्रदेशले हामीलाई केन्द्र सरकारले अधिकार नै दिएको छैन भनिरहेका छन् । अधिकार दिएकोमा पनि सार्वभौम सरकार हैनौं भनिरहेका छन् ।

प्रधानमन्त्रीले वित्तीय संघीयतामा केही थिति बसालें भने पनि त्यहाँ धेरै समस्या अझै पनि छन् । प्रधानमन्त्री जो आए पनि सकेसम्म केन्द्रमा भएका अधिकार दिन नपरे हुन्थ्यो भन्ने सोच देखिन्छ । कर्मचारीतन्त्रले धेरै अधिकार दियो भने भ्रष्टाचार हुन्छ भनिरहेका छन् । एक हदसम्म त्यो सत्य पनि हो ।

प्रधानमन्त्रीले पुनर्निर्माणमा एकदमै धेरै प्रगति भएको कुरा गर्नुभएको छ । निजी आवासको सन्दर्भमा प्रगति भएजस्तो देखिन्छ । अन्यत्रको नबने पनि काठमाडौंमा रानीपोखरी बनेको छ । धरहरा पनि बन्ने क्रममा छ । तर, काष्ठमण्डप, नुवाकोट दरबार बनेको छैन । पुरातत्वमा हामी साँच्चै पछि परेका छौं । भलै, पुनर्निर्माणका काम सजिलो भने छैन ।

सरकारमा समन्वयको अभाव देखियो । सुरुमा सहुलियतपूर्ण आवास कर्जाको प्रभावकारी कार्यान्वयन नै भएन । धेरै ठाउँमा भूकम्प पीडितहरूको गुनासो के छ भने सुरुमा तीन लाख पाए । तर, बाँकी रकम चर्को ब्याजमा लिनुपर्‍यो । पुनर्निर्माणको छुट्टै मूल्यांकन हुनुपर्दछ ।

ठूला आयोजनामा असफल

सडक कालोपत्रे र पुल निर्माणलाई उहाँले ठूलो प्रगति भयो भन्नुभएको छ । झोलुङ्गे पुल, सुरुङ निर्माणको कुरा गर्नुभएको छ । तर, कतिपय यी आयोजनाहरू पहिलादेखिकै योजनाअनुसार भएका हुन् । नौविसे सुरुङमा उहाँको योगदान भन्न मिल्दैन । सिद्धबाबा सुरुङका लागि पनि बजेट छुट्याउनु भयो । तर, काम ढिलो भएको छ । अरु सुरुङ मार्गको प्रगति भएको छैन ।

मेलम्ची असफल भयो । हामीलाई बैशाखमा मेलम्चीको पानी आउँछ भन्ने कर्मचारीहरू हाम्रै वरिपरि होलान् ।

सडक बोर्डसम्बन्धी पुनसंरचनाले गर्दा कालोपत्रे भएको सत्य नै हो । बजेटको अभाव पनि छैन । धेरै स्थानीय सडक बनेको पनि देखिन्छ । जस्तो– चितवनका कुनाकुनामा जाँदा राम्रो सडक बनेको देखिन्छ । पालिकाहरूले बनाएको सडकमा संघीय सरकारले समन्वय गरेको आंशिक जस लिन भने मिल्छ । तर, त्योबाहेक दाबी गर्न मिल्दैन ।

केन्द्रीय सडकहरूको हालत बिजोग छ । नारायणगढ–मुग्लिन सडक खण्ड राम्रो छ । त्यहाँ १८ वटा पुल बन्ने कुरा छन् । तर, ती पुलहरू बनाउने ६/७ वर्ष पहिलेदेखिकै योजना हुन् । ४/५ वटा पुल बनेका छन् । तर, अरु पुलको अवस्था बिजोग छ । राजमार्गका पुलहरू, सडक विस्तार, द्रुतमार्ग बनाउने जस्ता कुरामा सरकारको ध्यान गएन ।

पुलहरू बनिरहेका छन् । तर, तिनीहरू फेडरल स्ट्राटेजिक रोड नेटवर्कमा हुनुपर्ने हो, त्योभन्दा अरुतिर जबरजस्त बनेका छन् । सडक कालोपत्रे भएको मैले पनि अनुभव गरेको छु । तर, समग्रमा पहिलादेखिकै योजना मुताविक भएको हो ।

वास्तवमा भौतिक पूर्वाधार निर्माण सरकारको कमजोर पक्ष नै हो ।

झण्डै दुई तिहाईको सरकारले ल्याउनुपर्ने र ल्याउन सक्ने ठूलो आयोजना भने केही पनि ल्याएन । उहाँहरूले त रेल, पानीजहाज ल्याउने प्रतिवद्धता जनाउनुभएको थियो । त्यो प्रतिवद्धतासँग तुलना गरेर हेर्दा त यो खास राम्रो भएन ।

३३३ मेगावाट विद्युत उत्पादन भनेको छ । यो धेरै ठूलो उत्पादन होइन । विद्युत उत्पादन भनेको आजको भोलि हुने कुरा पनि होइन । प्रधानमन्त्रीज्यूले आफू आएपछि सुरु गरेको जलविद्युत आयोजना अहिले लाइसेन्सको चरणमा हुन्छ । उहाँले प्रस्तुत गर्नुभएको तथ्यांक ठीकै हो । तर, नयाँ पहल गरेर देखाउनुपर्दथ्यो । जस्तो– बंगलादेशले १५ हजार मेगावाट किन्छु भनेको छ, त्यसमा हाम्रो सरकारले के गरेको छ ?

विद्युत उत्पादनको विषय एउटै सरकारलाई जस दिन सकिने विषय होइन । माथिल्लो तामाकोशी ९८ प्रतिशत निर्माण सम्पन्न भनेको उहिल्यैदेखि हो । तर, विद्युत उत्पादन छैन । निजगढ–काठमाडौं द्रुतमार्ग पनि फेलियर भयो । लागत बढिरहेको छ । कहिलेसम्म बनिसक्छ भनेर कसैले पनि भन्न सक्दैन । मेलम्चीलगायतका यी आयोजनाहरू गर्व गर्न लायक छैनन् ।

रासायनिक मल अनुदान १२५ प्रतिशतले वृद्धि भएको भन्नुभएको छ । मलाई त्यो कुरामा विश्वास छैन । उहाँहरू आउने बेलामा ९ अर्ब थियो अहिले ११ अर्ब छ । त्यसकारण उहाँले प्रस्तुत गर्नुभएको आंकडामा म विश्वस्त हुन सकेको छैन ।

सिँचाई आयोजनाहरूको प्रगति एक हिसाबले शुन्य छ भन्दा हुन्छ । जस्तो– बबई सिँचाई आयोजना ४२ बाट ५२ प्रतिशत पुग्यो भन्नुभएको छ । तीन वर्षमा १० प्रतिशत भौतिक प्रगति हुँदा गर्व गर्नुपर्ने, यो ३० वर्षको आयोजना हो ?

त्यस्तै सिक्टा सिँचाई आयोजना ५६.७ प्रतिशतबाट ६३.७ प्रतिशत पुग्यो भन्नुभएको छ । तीन वर्षमा सात प्रतिशत काम हुन्छ भने कहिले सकिन्छ यो ? रानी जमरा गुलरिया ३६ प्रतिशतबाट ४९.१ प्रतिशत भन्नुभएको छ । तीन वर्षमा १३ प्रतिशत वृद्धि ?

तीन वर्षमा जम्मा त्यति प्रतिशत काम हुँदा गर्व गर्नुपर्ने कुरा हो र भन्ने प्रश्न छ ।

‘यो सरकार बन्नुअघिको सरदर २० प्रतिशतको आयात वृद्धि करिव ८ प्रतिशतमा झरेकाले कुल आयातमा कमी आएको छ’ भन्नुभएको छ । यो ‘ट्रिकी’ कुरा छ । देशभित्र उत्पादन बढी भएर निर्यात बढ्नु राम्रो कुरा हो । तर, आयात कम हुनु भनेको आफंैमा राम्रो कुरा होइन । ऋण बढेको छैन भने आयात बढ्दैमा चिन्ता गर्नुपर्दैन । भोलि एक हजारवटा जेट आयात होला रे, ऋण बढेको छैन भने त्यो चिन्ताको विषय होइन । दुई वटा गाउँमध्ये एउटा गाउँ धेरै गरिब र अर्को गाउँ कम गरिब भयो रे, कम गरिब भएको गाउँले गर्व गर्नुको कुनै तुक हुन्छ र ? हुँदैन नि ।

मेरो विचारमा प्रधानमन्त्रीज्यूले आयातको त्यो आंकडा राख्नु जरुरी थिएन । निर्यातमा हाम्रो चुनौति छ भनेर उहाँले भन्दिनुभएको भए पनि हुन्थ्यो ।

उद्योग दर्तामा खासै प्रगति भएको छैन । वैदेशिक लगानी प्रतिवद्धताको कुरा पनि त्यति महत्वपूर्ण होइन । पहिला–पहिला चिनियाँहरूले नगरपालिकापिच्छे कार्यक्रम गरेर वैदेशिक लगानीको प्रतिवद्धता जनाउन लगाउँथे । कसैले कागजमा लेखेर मैले यति अर्ब लगानी गर्छु भन्यो भने प्रतिवद्धतामा गणना गरिहाल्थ्यो । त्यसले गर्दा प्रतिवद्धताभन्दा पनि वास्तविक लगानीमा जानुपर्ने हुन्छ ।

पछिल्लो पटक लगानी सम्मेलनमार्फत राम्रै पहल गरेको हो । भेनेजुएला प्रकरण, मात्रृका यादवको त्यो गतिविधि सम्झिने हो भने पार्टीभित्रबाट उहाँलाई सहयोग भएको देखिँदैन ।

एमसीसीमा प्रधानमन्त्रीमाथि अनावश्यक लाञ्छना

प्रसारण लाइन राम्रो नभई नेपालको विद्युत प्रणाली राम्रो हुँदैन भन्ने सबैलाई थाहा थियो । एमसीसीको विरोधमा जुन जुन हौवा फिँजाइयो, त्यसले लगानीको वातावरणमा के असर गर्छ भन्ने विचारै गरिएन । ५० करोड डलर अनुदान ल्याउँदा अमेरिकी सेनै आउँछ भनेर अन्टसन्ट बोले । अरु जेसुकै भए पनि एमसीसीमा प्रधानमन्त्री ओलीले गाली खान्छन् भन्ने अपेक्षा थिएन । एमसीसीमा गाली गर्ने नै हो भने माओवादी र कांग्रेसका प्रधानमन्त्रीलाई गाली गर्नुपर्ने हो । त्यसमा ओलीजीको गल्ती छैन । एमसीसीमा पहिला आफैंले हस्ताक्षर गरेर अहिले गाली गर्नेहरूको नैतिकतालाई के भन्ने ? अहिले एमसीसीमा गाली गर्नेहरूले पहिला अमेरिकी मन्त्रीहरूलाई भेटेको थिएन भन्न सक्छन् र ?

एमसीसी एउटा उदाहरण हो । तर, यस्तो कुराले वैदेशिक लगानीमा असर गर्छ । चिनियाँहरूले पनि हाम्रो सरकारलाई त्यति विश्वसनीय मान्दैन । डेलिभरी छैन भन्छ । लगानीको वातावरण बन्नका लागि त समग्रमा सहमति चाहिन्छ । यद्यपि प्रधानमन्त्रीज्यूले यो क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै थिए । जस्तो– उहाँले ‘लाइसेन्स राज’ अन्त्य गर्न सक्नुहुन्थ्यो ।

उदाहरणका लागि विनोद चौधरीले १५ अर्बको लगानी लिएर आउँछौं भनेको छ । ठूलो लगानी ल्याउँछु भनेर लाइसेन्स ओगटेर बस्ने व्यापारीहरू छन् । लाइसेन्स रोकिदिनुभयो, बरु सुरुमै ५ अर्ब राखेर लाइसेन्स दिएको भए हुन्थ्यो । चौधरीको हकमा व्यक्तिगतरुपमै तुष लिनुभयो भन्छन् मान्छेहरू ।

आन्दोलनपछि ०४८ सालमा बनेको सरकारले ट्यारिफमा रिफर्म, लाइसेन्समा सहजीकरण गरेको थियो । उद्योग, कलकारखाना खोल्छु भन्नेलाई दिनुपर्छ । १०० अर्ब रुपैयाँ छ, बैंक खोल्छु भन्यो भने पनि दिन्न होला । सबैतिर रोक्ने काम गर्नुहुँदैन । मापदण्ड पूरा गर्नेलाई लाइसेन्स दिनुपर्छ । तर, स्थिति ठीक उल्टो छ । हरेक ठाउँमा लाइसेन्स नभई हुँदैन । यसमा प्रधानमन्त्रीज्यूको नयाँ सोच आएको देखिँदैन । वैदेशिक लगानीको हकमा त पार्टीका विपक्षीहरूले प्रहार गर्ने विषयको रुपमा लिइदिए ।

७७ वटै जिल्लामा फोरजी लगें भन्नुभएको छ,सही नै होला । इन्टरनेट विस्तार पहिलादेखिकै हो । उहाँले यसमा असाधारण काम गर्नुभएको छैन ।

विमानस्थलसम्बन्धी दाबी पनि स्वाभाविक छैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही गरें भन्नेसम्म त ठीकै छ । निजगढ विमानस्थलको प्रगति शून्य छ । पोखरा र भैरहवाको पनि सोचेजस्तो छिटो प्रगति भएको छैन । सरकारले चाहने हो भने कोभिड–१९ ले पनि रोक्दैन । निजी क्षेत्रको काम त समयमै भइरहेको हुन्छ । विमान नउडेसम्म यति प्रतिशत प्रगति, उति प्रतिशत प्रगति भन्नुको अर्थ छैन ।

कोभिड नियन्त्रणमा भने म सरकारको काम देखेर खुशी नै छु । ओम्नी काण्डमा बाहेक बाँकी कुरामा चुकेजस्तो लाग्दैन । जस्तो– सतप्रतिशतले पीसीआर परीक्षण गर्नुपर्छ भन्ने कुरामा म सहमत छैन । सबैलाई कोरोना खोप लगाउने हो भने ४९/५० अर्ब रुपैयाँ खर्च हुन्छ । त्यो जरुरी छैन । कोरोनाको दोस्रो वेभ नआउँदासम्म खोपमा त्यति धेरै खर्च गर्र्नु जरुरी छैन । हाम्रोजस्तो आर्थिक अवस्था भएको देशले अरु ज्यानमारा रोगबारे पनि विचार गर्नुपर्ने हुन्छ । त्यस्ता कुराको विचार नगरी जथाभावी नाराबाजी गरेर मात्रै हुँदैन । त्यसो गर्नु रोगमा राजनीति गर्नु हो ।

हाम्रो खरिद प्रणाली नै कमजोर छ । एक/डेढ अर्बको सामान खरिद हुँदा नै विवाद हुन्छ । ओम्नीमा सुरुमै घुस खान खोजेजस्तो देखियो । त्यसमा प्रधानमन्त्रीले छानविन गर्नुपर्दथ्यो । ३/४ सय वटा अस्पतालको उद्घाटन गर्नुभयो । त्यो पनि महत्वकांक्षी योजना नै हो । त्यसलाई सकारात्मकरुपमै लिएको छु ।

महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु घटेको छ भन्नुभएको छ । त्यो राम्रै बुँदा निकाल्नुभएको हो । तर, समग्र आर्थिक अनुशासनमा सुधार भएजस्तो लाग्दैन । पहिला जस्तो थियो, त्यस्तै छ । देखिने गरी सुधार केही पनि भएको छैन । सेवाग्राहीले सरकारी कार्यालयमा घुस नदिई काम गरेको अनुभव गर्न पाएका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले त सुधार भएको छैन भनेको छ । थोरै बढेको छ भन्ने देखाएको छ ।

यो तीन वर्ष काम गर्नका लागि ठूलो अवसर हो । प्रधानमन्त्रीले पनि पहिलो वर्षलाई आधार वर्ष र त्यसपछि विकासले गति लिन्छ भन्नुभएको थियो । ६/७ प्रतिशतको आर्थिक बृद्धिदर नराम्रो होइन । तर, त्यसलाई झन नयाँ दिशा दिएर १० प्रतिशत पुर्‍याउन सरकार असफल भएकै हो । त्यसले अर्थतन्त्र ध्वस्त पारेको भने छैन । जुन सरकार भए पनि कोभिडमा समस्या हुन्थ्यो ।

तर, उहाँहरूले भने जसरी तीन वर्ष अगाडि ढुकुटी रित्तो थिएन । न अहिले रित्तो छ । श्वेतपत्र जारी गरेर ढुकुटी रित्तो छ भन्नु गलत थियो । त्यतिबेला पनि वास्तवमा पर्याप्त मौज्दात थियो । स्रोत सुनिश्चितता गरेकाले दायित्व थियो । अहिलेको सरकार बन्नेबेलामा सबै कुरा बिग्रेको छ, भत्किएको छ, थोत्रिएको छ, भन्नुभएको थियो, जुन सरासर गलत थियो । किनभने, हाम्रो वित्तीय प्रणाली एकजनाले खाएर सक्नेखालको छैन ।

तीन वर्ष अगाडि १० अर्ब डलर मौज्दात थियो अहिले १२ अर्ब छ । सँगसँगै ऋण पनि बढेको छ । ४३३ अर्ब जति बाह्य ऋण थियो अहिले ८०० अर्ब जति पुगेको छ ।

सरकारले गरेन अवसरको सदुपयोग

सरकारसँग ठूलो अवसर थियो । हुलका हुल मान्छे गएर यही मान्छेले हाम्रो भाग्य बनाउँछ भनेर भोट दिएका थिए । एक त उहाँसँग केही योजना पनि थिएन । आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न पनि सक्नुभएन । यो सरकारले विपक्षी दलले काम गर्न दिएन भनेको सुनिएन । अब जो सरकारमा आए पनि विपक्षी दल जिम्मेवार हुनुपर्छ ।

दुई तिहाईको मात्रै कुरा होइन, ठूला आयोजना सुरु गर्न पुग्दो साधन स्रोत पनि थियो । पूर्व–पश्चिम राजमार्गलाई राम्रो बनाउन सकिन्थ्यो । काठमाडौंलाई देशका अन्य मुख्य शहरसँग राम्रोसित जोड्नुपर्ने अवस्था छ । विश्वविद्यालयलाई कसरी सुधार गर्ने, पर्याप्त बिजुली–पानी कसरी सुनिश्चित गर्ने भन्ने त हो हाम्रो ठूला आयोजना भनेका । बाँकी त निजी क्षेत्रले पनि गरिहाल्छ नि ।

तर, कस्तो भएको छ भने निजीलाई लाइसेन्स नदिएर लगाम लगाउने र सरकार डेलिभरी दिन नसक्ने भएको छ । सरकारले त तीन–अर्ब खर्च गरेर पनि आयोजना सञ्चालन गर्न सकेको छैन । उपकरण खरिद गरेको बाहेक एउटा आयोजनामा पाँच अर्ब खर्च गरेको आयोजनै देखेको छैन ।

जनताले चाहेजति होइन, आफ्नै क्षमताले भ्याएजति पनि यो सरकारले काम गरेन । त्यसको अर्थ भताभुंग पार्‍यो भन्ने पक्षमा पनि म छैन । ३२ प्रतिशत ल्याउँदा पास हुन्थ्यो भने ३० अंक ल्यायो । पास मार्कको आसपासमा छ । कामचलाऊ छ ।

ठूलो परिवर्तन गरें भनेर त प्रधानमन्त्री आफंैले पनि भन्नुभएको छैन । नेकपाको घोषणापत्रसँग तुलना गर्न मिल्नेखालको पनि छैन । घोषणापत्र लेख्ने को हुन् ? तिनले कार्यान्वयन हुने घोषणापत्र लेखेकै होइनन् । त्यो आफैंमा व्यवहारिक छैन ।

नेकपा वा कांग्रेसजस्ता ठूला पार्टीले स्पष्ट बहुमत ल्याएर काम गर्न नसक्नु भनेको देशका लागि दुर्भाग्य हो । नेताहरूले एउटा फोनका भरमा लाखौं मान्छे जम्मा गर्नसक्नुहुन्छ । त्यो शक्तिलाई सिर्जनामा बदल्न नसक्नु सबैभन्दा दुःखद कुरा हो ।

( सन्त गाहा मगरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#विचार#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

Next Post
प्रचण्डले सुरक्षाको खतरा देखाउंदै राख्दै आएका ५५ जना सुरक्षाकर्मि फिर्ता, डीएसपीलाई फिर्ता बोलाएर सईको कमाण्डमा सुरक्षा

प्रचण्डले सुरक्षाको खतरा देखाउंदै राख्दै आएका ५५ जना सुरक्षाकर्मि फिर्ता, डीएसपीलाई फिर्ता बोलाएर सईको कमाण्डमा सुरक्षा

पेट्रोलियम पदार्थमा एक सातामै दुई पटक मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा एक सातामै दुई पटक मूल्यवृद्धि

कांग्रेसको कार्यक्रममा ओली समूहको ढुंगामुढा

कांग्रेसको कार्यक्रममा ओली समूहको ढुंगामुढा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .