काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (प्रचण्ड माधव पक्ष)की नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।
बिहीबार बिहान प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको अपराध महाशाखामा सोधपुछको लागि राखेको छ ।
राज्यविरुद्धको मुद्दामा झाँक्रीलाई पक्राउ गरिसकेपछि त्यसको विरोधमा ट्वीटर गर्दै पौडेलले लेखेका छन् ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको छ।’
पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भर्त्सना गर्दै बिनाशर्त रिहाइको माग समेत गरेका छन् ।