राजाहरुले आफ्नो सम्बोधनको अन्त्यमा जहिल्यै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गरेको स्मरण गर्दै उनले भने, ‘पशुपतिनाथले राम्रै कल्याण गरे, नारायणहिटीबाट नागार्जुन पुर्याइदिए । अब ओजीलाई के कृपा गर्ने हो ?’
पशुपतिनाथले कृपा गर्ने भए राजा वीरेन्द्रको वंश नाश हुने थिएन भन्दै नेता पन्तले भने, ‘ओजीजी नबोल्ने पशुपतिनाथ होइन, बोल्ने पशुपतिनाथहरुलाई खुसी बनाउनुस्, जो यहाँ उपस्थित छन् । तराईका झुप्रोमा छन्, हिमाल र पहाडको झुप्रोमा छन्, मेची किनारमा छन्, महाकाली किनारमा छन् ।’
‘बोल्ने पशुपतिनाथ भनेका जनता भएको भन्दै उनले अघि भने, ‘चुनौती दिएर भन्न चाहन्छौं, आज गनौं । तपाईंले सत्ता र शक्तिको दुरुपयोग गरेर ल्याएका मानिसहरु र ज्यान हल्केलामा राखेर संविधानको रक्षाका लागि आएका जनता ।’
प्रचण्ड–माधव समूहका नेता पन्तले प्रधानमन्त्री ओलीको २३ माघको सम्बोधनमा समेत प्रश्न उठाए । आफ्नो पालामा जस्तो विकास कहिल्यै नभएको भनेका ओलीले केहीबेरमा प्रचण्ड र माधव नेपालले हातखुट्टा बाँधेर काम गर्न नदिएको भनेको भन्दै उनले भने, ‘कुन साँचो हो ? हातखुट्टा बाँधेर काम गर्न नदिएको भए तपाईले दाबी गरेको जस्तो विकास कसरी भयो ? विकास नै विकास भएको भए प्रचण्ड–माधवले कसरी हात खुट्टा बाँधे ?’