काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संवैधानिक निकायहरुमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा बृहत नागरिक समूहले ‘मार्च पास’ गरेको छ । संसदीय सुनुवाई समितिमा सुनुवाई नै नगरी संवैधानिक निकायका पदाधिकारीहरुलाई राष्ट्रपतिबाट सपथ गराएको विरोधमा समूहले ‘मार्च पास’ गरेको हो ।
नागरिक समूहले मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निवास लैनचौरबाट राष्ट्रपति निवास शितल निवाससम्म ‘मार्च पास’ गर्ने तय गरेको थियो । तर मार्च पासको क्रममा पानी पोखरीमै प्रहरीले रोकेपछि साेही स्थानमा कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको विरोध गरेका थिए ।
कोणसभामा कवि आहुतीको कविता ‘गहुँगोरो अफ्रिका’ वाचन गरी सरकारको प्रतिगामी कदमको विरोध गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नागरिक अगुवाहरुले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु जारी राखेका छन् ।
#नागरिकअगुवा #मार्चपास