काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले सरकारले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै बिहीबार देशभर आमहड्ताल गरेको छ । विद्यार्थीको कुनै पनि परीक्षालाई हस्तक्षेप नहुने गरी शैक्षिक संस्था, यातायात, उद्योगकलकारखाना, बजार, व्यवसाय बन्द हुने गरी दाहाल–नेपाल समूहले आज देशभर बन्द गरेका हुन् ।
आमहड्ताल ५ बजेबाट सकिएको नेकपाका संघर्ष समितिका सदस्य समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । आमहड्तालका कारण आज देशभरको जनजीवन प्रभावित बनेको थियो । बन्द सफल बनाउन नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समेत सडकमा निस्नुभएको थियो । ललितपुरको सातदोबाटोको प्रदर्शनमा सहभागी हुनुभएका अध्यक्ष दाहालेमाघ २८ गते विशाल प्रदर्शनपछि पनि प्रतिगमन नसच्चिए फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताउनुभयो ।
राजधानीका विभिन्न स्थानमा बन्द सफल बनाउन निस्किएका नेकपाका नेताकार्यकर्ताले बाटोमै खाजा खाना खाएका थिए । कोटेश्वर चोकको मुख्य सडकमा सयौँको संख्यामा रहेका नेकपाका कार्यकर्ताले बाटोमै खाना बनाएर खाए भने अन्य विभिन्न स्थानमा पनि विस्कुट, चिउरा, चाउचाउ, भुजिया खाएको देखियो । यसमा अध्यक्ष दाहाले दालमोडचिउरा र पानी अगाडि राखेर सडकमा बस्नुभएको थियो ।
हड्तालको अनुगमनमा निस्कनुभएका अध्यक्ष नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्न बाध्य भएको बताउनुभयो ।
आज बिहानै काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गर्यो । बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा अज्ञात समूहले आगजनी गरेका हुन्।
त्यसैगरी राजधानीबाट आमहड्ताल सफल पार्न आह्वान गर्दै निस्किएका सयभन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्यो । कलंकी क्षेत्रको कमाण्डर तोकिनुभएकी नेतृ अष्टलक्ष्मी शाक्य, नेता राजेन्द्र पाण्डे, डा.विजय पौडेललगायतलाई बिहानै कलंकीबाट प्रहरीले पक्राउ गरेको थियो ।
त्यसैगरी चाबहिलमा नेकपा केन्द्रीय सदस्य कृष्ण के.सीसहितको टोली, बागबजारबाट युवा नेता रमेश मल्ल लगायतका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गर्यो।
धनुषाको जनकपुरधाममा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले १२ राउण्ड हवाइफायर गर्यो । झडपमा नेकपाका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा, मात्रिका यादवसहित दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । घाइते झाको टाउकोमा चोट लागेको र उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बताइएको छ ।
त्यसैगरी पर्साबाट हड्तालका लागि निस्किएका नेकपामा २२ जना नेता कार्यकर्ता पक्राउ परे । नेकपाका युवा नेता अरबिन्द यादव, मनोज चौधरी, अरुण यादव, रहवर अंसारी, शिवम् साह, प्रभाकर गुप्ता, लालबाबुलगायतका नेता पक्राउ परेका हुन् ।
बारा जिल्लाबाट मुकेश साह, जवाहिर अन्सारीसहित ६ जना, विराटनगरबाट पारुल क्षेत्रीसहित ७ जना र कास्कीबाट विनायक तिमिल्सेनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी देशभरबाट हड्ताल सफल बनाउन निस्किएका नेकपाका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ भने नेकपाका नेताकार्यकताले पनि देशभरका विभिन्न ठाउँमा मोटरसाइकल, ट्रक, ट्याक्सी लगायतका सवारी साधन तोडफोड गरे ।
केही ठाउँमा प्रहरीको कडा सुरक्षाका कारण व्यापार व्यवसाय सञ्चालन भए भने देशभरका शैक्षि संस्था आज ठप्प थिए । देशभरका अधिकांश ठूला शहरमा चलहपहल न्यून थियो ।
